जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल

मार्फामा ४० वर्षपछि तापक्रम अस्वाभाविक परिवर्तन
सोमबार, असोज २८, २०८१

काठमाडौँ । जलवायु विज्ञहरुले जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई मनसुन प्रणालीमा पनि फेरबदल भएको बताएका छन् । यही परिवर्तनका कारण यो वर्षको मनसुन विगतका वर्षहरूको तुलनामा १० दिनपछि देशबाट बाहिरिएको उनीहरूले बताएका छन् । जलवायुविद् मञ्जित ढकालले मनसुन ढिलागरी बाहिरिनुलाई मनसुन प्रणालीमा भएको फेरबदल हुनु जलवायु परिवर्तनको असरको रुपमा लिन सकिने प्रतिक्रिया दिएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षा जलवायु परिवर्तनको प्रभाव भएको उनको विश्लेषण छ । यद्यपि यस्ता जलवायुजन्य जोखिमको अनुसन्धान हुनुपर्नेमा उनले जोड दिए । 
उनले दिगो विकासको लागि जलवायुमैत्री विकासको अवधारणा कार्यान्वयन गर्न आवश्यक भएको बताए । “जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथमिकता दिन अपरिहार्य भएको छ,” ‘इन्टरगभर्नमेन्टल प्यानल अन क्लाइमेट चेन्ज’ प्रतिवेदन उद्धरण गर्दै उनले भने ।  मौसमविद् विष्णु घिमिरे पनि मनसुन प्रणाली ढिलो टुङ्गिनु जलवायु परिवर्तनको प्रभाव हो वा होइन भन्ने निष्कर्षमा पुग्न अनुसन्धान गर्नुपर्नेमा जोड दिन्छन् । जलवायु परिवर्तन असरका कारण मनसुन प्रक्रियामा तलमाथि भएको हुनसक्ने उनको बुझाई छ ।

मार्फामा ४० वर्षपछि तापक्रम अस्वाभाविक परिवर्तन
हिमालपारिको जिल्ला मुस्ताङको मार्फा क्षेत्रमा मापन गरिएको तापक्रमको विवरण हेर्दा पछिल्लो समय तापक्रममा केही बढोत्तरी हुनुका साथै अस्वाभाविक परिवर्तन भएको पाइएको छ ।  गर्मी समयमा अधिक तापक्रम पुग्ने र चिसो समयमा पनि अस्वाभाविक रूपमा माइनस १० सम्म पुगेको तथ्याङ्कले देखाएको छ । शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा सन् १९८५ देखि तापक्रम मापनको आधिकारिक तथ्याङ्क भेटिएपछिको अवस्था हेर्दा अस्वाभाविक परिवर्तन देखिएको हो ।  केन्द्रले मापन गर्ने तापक्रम र उसले राखेको तथ्यलाई केलाउँदा केही हदसम्म भए पनि तापक्रम बढेको मात्र नभएर अस्वाभाविक पनि मान्न सकिने जनाइएको छ । शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयका अनुसार हालसम्मको अवस्था हेर्दा केन्द्रमा गर्मीको समयमा तापक्रम अलिकति भए पनि बढेको र जाडोमा पनि अस्वाभाविक तवरले घटेको पनि देखिएको छ । 
गर्मी समयमा तापक्रम अलि बढी र जाडोमा पनि जाडो बढेकैजस्तो पाइने गरेको उहाँको भनाइ छ । मार्फामा मापन गरिएको तापक्रमको तथ्य हेर्दा सन् २००८ को जनावरी ३१ मा तापक्रम सबैभन्दा कम अर्थात् माइनस ९ दशमलव ५ डिग्री सेन्टीग्रेट मापन भएको थियो । त्यस्तै सन् २००७ को जनावरी ३ मा माइनस ९ मापन भएको थियो । सन् २००१ अप्रिल १९ मा मार्फामा त्यो समयसम्मको अधिक तापक्रम मापन भएको थियो । उक्त समयमा मार्फाको तापक्रम २६ डिग्री सेन्टीग्रेट मापन भएको थियो ।  त्यस्तै सन् २०१६ मे २३ मा २८ दशमलव ५, सन २०१८ जुन ४ मा २७ डिग्री मापन गरिएको तापक्रम सन् २०२० को जुन २९ मा २९ डिग्री मापन भएको आत्रेयको भनाइ छ । सन् २०१४ को जुन ११ मा २९ डिग्री तथा सन् २०१५ को जुलाई २९ र अगस्ट ११ मा ३० डिग्रीसम्म तापक्रम मापन भएको शीतोष्ण बागवानी विकास केन्द्रले जनाएको छ । मौसम बढ्यो घट्योभन्दा पनि तापक्रममा भएको अस्वाभाविक परिवर्तनले गर्दा सबैलाई असर गर्न सक्ने आत्रेयको भनाइ छ । तापक्रम पछिल्लो दुई वर्षमा पनि २९ डिग्रीसम्म पुगेको देखिन्छ । गर्मी समयमा ३० डिग्रीसम्म र जाडोमा अस्वाभाविक जस्तैगरी करिब माइनस १० सम्म पुगेको अवस्थाले गर्दा जनावर, मानिस तथा बोटबिरुवालाई पनि असर पर्ने उहाँको भनाइ छ ।  चिसो ठाउँको तापक्रम करिब एक प्रकारको हुने तर जलवायु परिवर्तनले गर्दा अस्वाभाविक तवरको अत्यधिक र न्यूनतम तापक्रममा पुग्दा त्यसलाई ग्रहण गर्न पक्कै पनि कठिनाइ हुन्छ शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख आत्रेयको भनाइ छ । जलवायु परिवर्तनको कारणले गर्दा मुस्ताङको तल्लो क्षेत्रमा स्याउको उत्पादनमा कमी हुन थालेको छ । २० वर्षभन्दा पहिलासम्म स्याउको राम्रो उत्पादन हुने कोबाङ क्षेत्रमा अहिले विगतजस्तो स्याउको उत्पादन नहुने थासाङ गाउँपालिका–२ का अध्यक्ष गौतम शेरचनले बताए ।  सन् २००० सम्म बेमौसमी पानी नपर्ने भए पनि पछिल्लो समय चैत वैशाखमा पानी पर्ने तथा हिउँदमा हिउँ नपर्ने समस्याले पनि स्याउको उत्पादन कम भएको उनको भनाइ छ । हिउँदमा हिउँ परेको खण्डमा चिलिङ आवर पुग्ने र चैत वैशाखमा पानी नपर्ने हो भने मात्रै माहुरी तथा भवराहरुले परागसेसन गराएको खण्डमा स्याउ उत्पादन राम्रो हुन्छ । परागसेसनको समयमै पछिल्लो वर्षमा पानी परिदिँदा स्याउ उत्पादन तथा अन्य फलफूल तथा तरकारी बालीमा समेत असर गरेको शेरचनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  ०४:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार