भारत र क्यानाडाबीच तनाव बढ्दै, दुवै देशले राजदूतहरू फिर्ता गरे

मंगलबार, असोज २९, २०८१

नयाँदिल्ली । भारत र क्यानाडाबीचको सम्बन्ध चिसिँदै गएको छ । दुवै देशले एक अर्काका प्रमुख राजदूतहरूलाई देश निकाला गरेका छन् भने अन्य कूटनीतिक कर्मचारीहरूलाई पनि फिर्ता बोलाएका छन् । यो विवाद गत वर्ष क्यानाडामा भएको खालिस्तानी नेताको हत्या प्रकरणसँग सम्बन्धित छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन टुडोले भारतीय एजेन्टहरू सो हत्यामा संलग्न भएको दाबी गरेपछि सम्बन्ध थप जटिल बनेको हो । क्यानाडाका प्रहरीहरूले भारतीय एजेन्टहरूलाई ‘हत्या, जबर्जस्ती असुली र हिंसात्मक गतिविधिहरू’मा संलग्न भएको आरोप लगाएका छन् र खालिस्तान आन्दोलनको समर्थन गर्नेहरूलाई निशाना बनाएको बताएका छन् । खालिस्तान आन्दोलनले भारतमा शिखहरूको लागि छुट्टै स्वायत्त क्षेत्रको माग गर्दै आएको छ । भारतीय सरकारले यी आरोपहरूलाई ‘असम्भव’ भन्दै खण्डन गरेको छ । भारतको तर्फबाट जारी वक्तव्यमा टुडोले क्यानाडाको ठूलो शिख समुदायलाई आकर्षित गर्न राजनीतिक फाइदाका लागि यस्तो आरोप लगाएको आरोप लगाइएको छ । भारतको विदेश मन्त्रालयले क्यानाडाका कार्यवाहक उच्चायुक्त स्टुअर्ट रोस व्हिलर सहित छ जना क्यानाडाली कूटनीतिज्ञलाई अक्टोबर १९ सम्म भारत छोड्न आदेश दिएको छ । दुई देशबीचको यो विवादले पारस्परिक सम्बन्धलाई थप बिगारेको छ र भारतले क्यानाडाको भिसा सेवा पनि निलम्बन गरेको छ । यसैबीच, क्यानाडाली सरकारको तर्फबाट टुडोले भने, ‘यो प्रमाणलाई बेवास्ता गर्न सकिँदैन । यो घटनाले क्यानाडाको राष्ट्रिय सुरक्षा र सार्वभौमिकतालाई खतरामा पारेको छ, त्यसैले हामीले यो कदम चालेका हौं ।’  दुई देशबीचको सम्बन्धलाई सुधार गर्ने कुनै संकेत हालसम्म देखिएको छैन । क्यानाडामा विश्वकै सबैभन्दा ठूलो शिख समुदाय रहेको र भारतको लागि यो मुद्दा निकै संवेदनशील बनेको छ । दुवै देशका अधिकारीहरूले यो समस्या समाधानको उपाय खोज्न आवश्यक भएको बताएका छन्, तर तत्काल समाधानको कुनै संकेत देखिएको छैन ।

क्यानडाका ६ कूटनीतिज्ञ भारतबाट निष्कासित

भारतले क्यानडाका ६ कूटनीतिज्ञलाई दिल्लीबाट निष्कासित गरेको छ । साथै क्यानडाबाट आफ्नो देशको उच्चायुक्त सञ्जय कुमार बर्मालाई फिर्ता बोलाएको छ । भारतले दिल्लीबाट निष्कासित गरेका क्यानडाका कूटनीतिज्ञहरुमा कार्यकारी उच्चायुक्त स्टिबर्ट रोस ह्वीलर, उपउच्चायुक्त पेट्रिक हेबर्ट, फर्स्ट सेक्रेटरी मेरी क्याथरिन, इआन रोस डेभिड, एडम जेम्स र पाउला आर्जुएला छन् । भारतीय विदेश मन्त्रालयले उनीहरुलाई १९ अक्टुबरको दिन राति १२ बजेभन्दा अगाडि नै भारत छाड्न निर्देशन दिएको छ । क्यानडामा सन् २०२३ मा खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्या हुनुमा  क्यानाडा सरकारले भारतको हात रहेको आरोप लगाएपछि दुई देशबीच कूटनीतिक तिक्तता बढेको छ । क्यानडाले भारतका उच्चायुक्त सञ्जय कुमार बर्मा र अन्य भारतीय कूटनीतिज्ञहरु सन् हरदीप सिंह निज्जरको हत्या प्रकरणमा जोडिएको आरोप लगाउँदै आएको छ । क्यानडाले एक कूटनीतिक नोट पनि भारत पठाएको थियो । भारतले भने क्यानडाले लगाएको आरोप अस्वीकार गर्दै क्यानडाका ६ कूटनीतिज्ञलाई देश निकाला गर्ने र आफ्ना कूटनीतिज्ञलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
सोमबार बेलुका भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘जस्टिन ट्रुडो नेतृत्वको क्यानडा सरकारको रवैयाका कारण भारतीय कूटनीतिज्ञको सुरक्षा खतरामा परेको छ । हामीलाई क्यानडाको वर्तमान सरकारप्रति कुनै भरोसा छैन । त्यहीभएर भारत सरकारले क्यानडाबाट आफ्ना उच्चायुक्तसहितका अन्य कूटनीतिज्ञलाई फिर्ता बोलाउने निर्णय गरेको छ । हामीले क्यानडालाई भनिसकेका छौं कि ट्रुडो सरकारले जसरी भारतविरुद्ध अलगाववादी र अतिवादको समर्थन गरिरहेको छ । त्यसको विरुद्ध जवाफ दिने अधिकार भारतलाई छ ।’ पत्रकार सम्मेलन गरेर ट्रुडोले भने, ‘हामीले प्रमाण भारतलाई बुझाएका छौं ।’  भारतको यो निर्णयपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजधानी ओटावामा पत्रकार सम्मेलन गरी भारतलाई आफूहरुले हरदीप सिंह हत्यामा भारतीय संलग्न भएको प्रमाण दिए पनि भारतले अनुसन्धान नसघाएको आरोप लगाए । उनले भने, ‘क्यानडा र भारतबीच लामो समयदेखिको सम्बन्ध छ । व्यापार र वाणिज्यको लामो इतिहास छ । तर हामीले जे देखिरहेका छौं त्यो सैह्य छैन । भारतको सम्प्रभूता र क्षेत्रीय अखण्डताको क्यानाडाले पूर्णरुपमा सम्मान गर्दछ र हामीलाई विश्वास छ भारतले पनि हामीलाई त्यस्तै गर्ने छ ।’ यसैगरी भारतले निष्कासित गरेपछि दिल्लीस्थित क्यानडाइ मिसनका बरिष्ठ कूटनीतिज्ञ स्टिबर्ट ह्वीलरले भनेका छन्, भारतले लामो समयदेखि जे माग गरिरहेको थियो, त्यो माग क्यानडाले पूरा गरिदिएको छ । क्यानडाले आफ्नो भूमिमा क्यानडाकै नागरिक हरदीप सिंह निज्जरको हत्या मामिलामा भारतीय एजेन्ट र उनको भारत सरकारसँग जोडिएको सम्बन्धको ठोस प्रमाण भारतलाई बुझाइदिएका छौं । अब कदम चाल्ने पालो भारतको हो । भारतीय कदम दुवै देश र ती देशका नागरिकका जनताको हितमा हुनेछ । यो प्रकरणमा सहयोग गर्न क्यानडा सरकार तयार छ ।’

को हुन् हरदीप सिंह निज्जर ?

सन् १९७७ मा पञ्जाबको जालन्धरमा जन्मिएका निज्जर सन् १९९७ मा क्यानाडा गएका थिए र उतैको नागरिक बनेका थिए । उनी पृथकतावादी शिखहरुको संस्था बाबर खाल्सा इन्टरनेशनलमा आवद्ध थिए । सन् २०२३ को जुन महिनामा क्यानडाको भ्यानकुभर नजिकै बन्दुकधारीले ४५ वर्षीय हरदीप सिंह निज्जरको गोली हानी हत्या गरेका थिए। उनको हत्या आरोपमा क्यानडा प्रहरीले २२ वर्षीय करण बरार, २२ वर्षकै कमल प्रीत सिंह र २८ वर्षीय करण प्रीत सिंहलाई पक्रेको थियो । तीनै जनालाई नियोजित हत्या र हत्याको षड्यन्त्र गरेको आरोप छ  । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएपछि दुई देशबीच कूटनीतिक तनाव बढेको थियो । खालिस्तानसँग जोडिएका निज्जरको क्यानाडामा हत्या भएपछि भारतले क्यानाडालाई भिसा दिन रोक लगाएको छ । क्यानाडाले पनि उस्तै कदम चालेको छ । दुई मुलुकले एकअर्काका कूटनीतिज्ञ पनि निकाला गरेका छन् । उनीहरुको सम्बन्धमा दरार उत्पन्न हुँदा दुई मुलुकको व्यापारमा पनि असर पुगेको छ ।–एजेन्सी 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार