राष्ट्रिय सभाअध्यक्ष दाहाल जेनेभामा, आइपीयू अध्यक्ष र महासचिवलाई भेटे

मंगलबार, असोज २९, २०८१

जेनेभा । राष्ट्रिय सभाअध्यक्ष नारायणप्रसाद दाहालले अन्तर व्यवस्थापिका संघका अध्यक्ष डा.तुलिया अक्सन एवं महासचिव मार्टिन चुङगोङसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।  भेटमा नेपालको संघीय संसद् र अन्तर व्यवस्थापिका संघसँगको आपसी सहकार्य, सहयोग आदान प्रदान, लोकतन्त्रका लागि संसदीय भूमिकालगायतका विषयमा कुराकानी भएको थियो ।
भेटमा अध्यक्ष दाहालले आइपीयूका विभिन्न सभा तथा कार्यक्रमहरूले लोकतन्त्र, मानवअधिकार, लैङ्गिक समानता, युवा सशक्तिकरण, दिगो विकासलगायतका सवालमा संवाद, सहकार्य र असलअभ्यासहरूको आदान प्रदानबाट संसदीय भूमिका प्रभावकारी बनाउन सहयोग पुगेको बताए । अध्यक्ष दाहालले संसदीय अभ्यास थप परिस्कृत गर्न र लोकतान्त्रिक संस्थाहरू थप सुदृढ गर्न अन्तर व्यवस्थापिका संघसँग आफूहरूले बलियो र घनिष्ट सहकार्य गर्न इच्छुक रहेको बताए । सो अवसरमा उनले आइपीयूसँग सिधा सम्पर्कमा रहन यसको सचिवालयमा नेपालको पनि सहभागिता गराउनतर्फ सोच्न आग्रह गरे ।

jenava2-1728984091.jpg
संविधान सभाबाट जारी संविधानमार्फत् नेपालले महिला, अल्पसंख्यक, सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समावेशी र समानुपातिक प्रणाली अवलम्बन गरेको भन्दै अध्यक्ष दाहालले संघीय संसदमा ३३ प्रतिशत तथा प्रदेश र स्थानीय तहमा ४१ प्रतिशत महिलाहरू जनप्रतिनिधिको रुपमा सहभागी रहेको बताए ।
जनप्रतिनिधिमार्फत् विश्वभरका मानिसले अनुभूत गरेका आवश्यकता, आकांक्षा एवम् समस्याहरू अभिव्यक्त गर्न सकिने साझा मञ्चको रुपमा अन्तर व्यवस्थापिका संघलाई आफूले बुझेको भन्दै अध्यक्ष दाहालले यसको गरिमा र महत्व विश्वमा झनै बढ्दै गइरहेको बताए ।  सो अवसरमा अन्तर व्यवस्थापिका संघका अध्यक्ष डा.तुलिया अक्सनले नेपालले विगतदेखि नै आइपीयूमा सक्रिय सहभागिता जनाएको भन्दै खुसी व्यक्त गरे ।  नेपालको संघीय संसद्मा ३३ प्रतिशत महिला सहभागी हुनु निकै प्रशंसनीय रहेको भन्दै समावेशीकरणमा नेपालले राम्रो काम गरिरहेको बताए । आइपीयूको सचिवालयलाई अझैं व्यवस्थित बनाउन लागिरहेको भन्दै अध्यक्ष तुलियाले आइपीयू सचिवालयमा नेपाली प्रतिनिधित्व गराउन आफूले पहल गर्ने बताए । भेटमा नेपाली संसदीय प्रतिनिधिमण्डलका सदस्यहरूको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १५:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार