बुङमतिस्थित कार्यविनायक मन्दिर पहिरोको जोखिममा (भिडियो)

मंगलबार, असोज २९, २०८१

बुङमति (ललितपुर) । ललितपुरको प्रसिद्ध धार्मिकस्थल कार्यविनायक मन्दिर पहिरोको उच्च जोखिममा परेको छ । गत असोज १० र ११ गते परेको अविरल वर्षाका कारण मन्दिर छेउका जमिनमा पहिरो जाँदा मन्दिर पहिरोको उच्च जोखिममा परेको हो । ललितपुर महानगरपालिका वडा नं. २२ का वडाअध्यक्ष सागर तुलाधारले मन्दिर पहिरोको जोखिममा परेको शब्दपाटीलाई बताउनु भयो । कार्यविनायक मन्दिर छेउबाट बुङ्मति मच्छिद्रवाहलतर्फ जान बनाइएको झोलुङगे पुलको मन्दिरतर्फको प्रारम्भिक बिन्दुमा पहिरो जाँदा मन्दिर पहिरोको जोखिममा परेको वडाअध्यक्ष तुलाधारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले हामीलाई कार्यविनायक गणेश मन्दिर कसरी जोगाउने भन्ने चिन्ताले सताएको छ ।’  बुङ्मतीको कार्यविनायक उपत्यकाका चार विनायकहरू मध्य एक हुन् । कार्यविनायक आकृतिविहीन सादा ढुंगामा पूज्ने परम्परा रहिआएको छ । कठिन कार्य पूरा गराउनका लागि कार्यविनायकमा भाकल गर्ने चलन छ । लिच्छवीकालभन्दा अगाडिदेखि यहाँ पूजा–आजा गर्ने चलन चलेको स्थानीय बूढापाका बताउँछन् । तर मन्दिरको औपचारिक स्वरूप भने ने.सं. ७८१मा बनेको मन्दिरअगाडि रहेको शिलालेखलाई आधार मान्दा प्रस्ट हुन्छ । कार्यविनायक मन्दिरको छाना पित्तल र तामा मिलाएर बनाइएको छ । छत्राकार शैलीमा निर्मित मन्दिरको प्रवेशद्वारमा चारतर्फ ढुंगे सिंह घण्टा छुचुन्द्रो मूर्ति प्रतिस्थापित गरिएको छ । मुसालाई गणेशको वाहनको प्रतीक मानिँदै आएको भए पनि यहाँ भने छुचुन्द्रोलाई प्रतीकका रूपमा प्रतिस्थापित गरिएको छ । भोजघरले घेरिएको यस मन्दिरमा भोज खाने भजन गर्ने तथा आराम गर्ने पाटी छ । 

कार्यविनायक भगवान् को हुन् ?
उपत्यकामा चार प्रसिद्ध गणेशहरु रहेका छन् । ती चारमध्ये कार्य विनायक पनि एक हो । जो बुङ्गमती र खोकनाको बीचमा रहेको छ । नबनेका कार्य बनाइ दिने भएकाले यसलाई कार्य विनायक भनिएको हो । उपत्यकावासीले कार्य विनायकलाई अत्यन्तै श्रद्धापूर्वक परापूर्वक कालदेखि नै मान्दै आएका छन् । कार्य विनायकमा गणेशको मानवनिर्मित मूर्ति छैन । हात्तीजस्तो प्राकृतिक प्रस्तरलाई कार्य विनायकको रुपमा पूजा गरिने गर्दछ । त्यसैको माथि गणेशको मन्दिर निर्माण गरिएको छ । कार्य विनायकलाई व्यापारीहरुको रक्षक देवता पनि भनिन्छ । नेवार समुदायका व्यापारीहरुले मंगलबारका दिन लड्डु, तील, दुबोले पूजा गर्ने गर्दछन् । नेपाली हिन्दुहरुको यो पवित्र तीर्थस्थलको रुपमा परिचित छ । कार्य विनायकलाई कर्मप्रधान देवताका रूपमा पनि मान्ने चलन रहेको पाइन्छ । कार्य शब्दले कर्म अर्थात् कामलाई बुझाउँछ । विनायक शब्दले गणेश भन्ने बुझाउँछ । विनायक भगवान गणेशको हजार नाममध्ये एक नाम हो । तसर्थ कार्य विनायकलाई कर्म प्रधान देवता भनेर सम्मान गरिएको हो । हरेक कर्मको शुभारम्भ गर्दा सर्वप्रथम गणेश भगवानलाई सम्झने र पूजा गर्ने हिन्दु परम्परा पनि छँदै छ । त्यसैले कार्य विनायकलाई कामको भलो गर्ने गणेश रुपमा मानिएको हो । विशेष गरी कार्य विनायकमा मंगलबार र शनिवारको दिन भक्तजनको भिड रहने गर्दछ । मंगलबार कार्य विनायकको दर्शन गर्दा पूर्ण नभएका कामहरु पूर्ण हुने हुनाले यस मन्दिमा भिड लाग्ने गरेको हो ।

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १७:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार