बालबालिकाको क्यान्सर रोक्न स्वास्थ्यमन्त्री पौडेलले गाभीसँग मागे निःशुल्क खोप 

बुधबार, असोज ३०, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बालबालिकामा हुने क्यान्सर नियन्त्रणका लागि खोप सहायताका लागि आग्रह गाभीसँग आग्रह गरेका छन् । गाभी  विश्वव्यापी खोप अलाएन्स हो । गाभीका कार्यकारी अधिकृत सानिया निस्तारसँगको भेटमा मन्त्री पौडेलले नेपाल बालबालिकामा हुने क्यान्सरसँग जुध्नका लागि परेको भन्दै बाल क्यान्सर नियन्त्रणका लागि खोपको सहायताका लागि आग्रह गरेका हुन् । स्वास्थ्य मन्त्रालयले सानै उमेरदेखि नै क्यान्सर नियन्त्रणका लागि योजना बनाएर काम थालेको भन्दै मन्त्री पौडेलले गाभीबाट प्राप्त हुने सहयोगले साथ मिल्ने आशा व्यक्त गरेका छन् ।  मन्त्री पौडेलले विश्व स्वास्थ्य सङ्गठनको हेटौँडामा रहेको कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रलाई क्षेत्रीय अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सघाउन आग्रह  गरेका छन् । जर्मनीको बर्लिनमा आयोजित विश्व स्वास्थ्य शिखर सम्मेलनका क्रममा सङ्गठनका महानिर्देशक डाक्टर टेड्रोस गिब्रिएससँगको कुराकानीका क्रममा यस्तो अनुरोध गरेका हुन् । नेपाल मात्र नभएर दक्षिणपूर्वी एसियाकै अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सकिने भन्दै मन्त्री पौडेलले यसका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको अवगत गराएका थिए ।  जवाफमा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोसले नेपालले सङ्गठनको स्वास्थ्य लक्ष्य पूरा गर्न महत्त्वपूर्ण योगदान दिएको चर्चा गर्दै यस विषयमा सकारात्मक रहेको बताएका थिए । 
मन्त्री पौडेलले जर्मनीका सङ्घीय स्वास्थ्यमन्त्री कार्ल लउटरबचसँग पनि भेटवार्ता गर्दै नेपालले डिजिटल स्वास्थ्यमार्फत स्वास्थ्य सुधार अघि बढाउने जानकारी दिएका थिए । जर्मन मन्त्रीले जर्मन अन्तर्राष्ट्रिय सहायता एजेन्सीमार्फत नेपाललाई दिन लागिएको करिब ३० मिलियन युरो स्वास्थ्य सहायताको प्राथमिकताबारे जिज्ञासा राखेका थिए ।  विश्व स्वास्थ्य शिखर सम्मेलनमा कार्यक्रममा बोल्ने क्रममा स्वास्थ्यमन्त्री पौडेलले नेपालको दूरदराजका क्षेत्रमा समेत ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाले पोषण र स्वास्थ्यका क्षेत्रमा मातृ र शिशुका लागि उदाहरणीय काम गरेको जानकारी गराएका छन् ।  स्थानीय समुदायका महिलाले प्रभावकारी योगदान दिएकै कारण मातृशिशु मृत्युदर कम गर्न सकेको मन्त्री पौडेलले अवगत गराएपछि सहभागीले उक्त कार्यको प्रशंसा गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  ०५:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार