सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । असोज दोस्रो साता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गमा मङ्गलबारदेखि यात्रुवाहक सवारीसाधन सञ्चालनमा आएको छ । यो राजमार्गमा ‘रुट’ अनुमति लिएका यात्रुवाहक सवारीसाधन सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । राजमार्ग मंगलबारदेखि निर्वाध रुपमा सञ्चालनमा आएपछि पूर्वी नेपालबाट काठमाडौं आउने यात्रहरूको भीड कोटेश्वरमा देखिएको छ । बाढी र पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गमा मंगलबारबाट सवारी आवागमन खुल्ला गरिएपछि काठमाडौं आउनेहरुको चाप बढेको छ । डिभिजन कार्यालयका प्रमुख योगेश सुमनले बाढीपहिरोले क्षतिग्रस्त भएको ठाउँमा ट्र्याक निर्माण गरी साना गाडीका लागि मात्र आवागमन खुलाइएकोमा मङ्गलबारदेखि ठुला यात्रुवाहक सवारीसाधनसमेत सञ्चालन गर्न दिएको जानकारी दिए । उनले भने, ‘बाढीपहिरोका कारण सो राजमार्गको भकुन्डेबेँसी बर्सेखोला खण्डको करिब आठ किलोमिटरभन्दा बढी लम्बाइको सडक पूर्ण रूपमा बगाएकोले अहिले नयाँ ट्र्याक निर्माण गरी सवारीसाधनका लागि आवागमन खुलाइएको छ । ‘रुट’ अनुमति लिएका यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न सकिन्छ ।’ चौकीडाँडा र माम्ती खोलानजिकको डाइभर्सनमा सुधार गरिएको छ । यातायात कार्यालय भक्तपुरले बाढीपहिरो गएको ठाउँमा अहिले पनि सुक्खा पहिरोको सम्भावना रहेकाले रातको समयमा भने सवारीसाधन नचलाउन यातायात व्यवसायीलाई आग्रह गरेको छ । बाढीपहिरोपछि यसअघि असोज २४ गते बिपी राजमार्ग सञ्चालनमा ल्याइएको थियो तर सञ्चालनमा आएको केही घण्टा नबित्दै सुक्खा पहिरो खसेर सो राजमार्ग पुनः अवरुद्ध भएको थियो । असोज ११ र १२ गतेको बाढीपहिरोले काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थल मार्गका रूपमा रहेको सोे राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पु¥याएको थियो ।