ललितपुरका जनप्रतिनिधिसहित खानेपानी मन्त्री पुगे फिल्ड (भिडियाे)

१५ दिन भित्र पानीको समस्या गर्ने प्रतिबद्धता 
बुधबार, असोज ३०, २०८१

ललितपुर । खानेपानी तथा सरसफाई मन्त्री प्रदीप यादव ललितपुरका जनप्रतिनिधिसहित बाढी र पहिरोले खानेपानीको संरचनामा पु¥याएको क्षति अवलोकन गर्न फिल्डमा पुगेका छन् । दशैं सकिएर सरकारी कार्यालय खुलेकै दिन मंगलबार सिंहदरबार पुगेर ललितपुर क्षेत्र नं.१ का संघीय सांसद उदय शमशेर राणा, गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन , उपप्रमुख मुना अधिकारी , जिल्ला समन्वय समितिका सभापति ऋषिदेव फुयाँलले मन्त्री प्रदीप यादवलाई ललितपुरमा भएको पानीको हाहाकार बारे अवगत गराएका थिए । चाडपर्वको बेला खानेपानीको चरम अभाव भोगेका ललितपुरबासीको आवाज बोकेर कार्यालय खोलेकै दिन मन्त्रालय पुगेका जनप्रतिनिधिले अनुगमनमा जान आग्रह गर्दा मन्त्री यादवले उक्त प्रस्तावलाई स्वीकार गरिहाले । मन्त्रीले भने, जाउँ, आजै जाउँ, भोलिको काम आज गरौँ, आजको काम अहिले नै गरौँ भन्ने मान्छे हुँ म,किन ढिला गर्ने ? ’ जनप्रतिनिधिले मन्त्रीलाई  बिहान ११ बजे भेटेका थिए । दिउँसो १ बजे उनीहरुको टिम फिल्ड तर्फ हिडिसकेको थियो । स्थानीय तहको निर्वाचन २०७४ पछि गोदावरी नगरमा खानेपानीको समस्या ८० प्रतिशत भन्दा बढी समाधान भएको थियो । असोजको दोस्रो साता आएको बाढी —पहिरोका कारण गोदावरीमा पानीको समस्या बढ्दै गएको छ । मन्त्रालयमा भएको छलफल लगत्तै मन्त्री यादवले आफ्नो प्रविधिक टोली र जनप्रतिनिधिसहित नल्लु, बासुकी र देवकी मुहान पुगेर त्यहाँको अवस्था बुझेका थिए । फिल्डमा पुगेका मन्त्री यादवले भने, पन्ध्र दिनभित्र धारामा पानी आउने गरी काम गर्न निर्देशन दिएको छु । ’  छिटोभन्दा छिटो धारामा पानी आउने व्यवस्था मिलाउन काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेल)र खानेपानी तथा ढल व्यवस्थापन विभाग लगायतका अधिकारीलाई छिटो काम फत्ते गर्न आग्रह गरे । संघीय सांसद उदय शमशेर राणाले पानीका यी मुहानमा पुगेको अवरोध र पाइपहरु पुरिएको ,भाँचिएको कारणले चापागाउँ,सुनाकोठी धापाखेललगायतका ठाउँ प्रत्यक्ष रुपमा प्रभावित भएको बताए । उनले भने, ‘ प्राविधिक टोली सहितले टिमले अनुगमन गर्दा क्षतिको आंकलनदेखि काम गर्न लाग्ने समयसम्म तय भएको छ  । ’ उनले मन्त्री लगायत प्राविधिक टोलीलाई धन्यवाद दिए । नगर प्रमुख गजेन्द्र महर्जनले बजेटको अभावमा काम नरोकिने बताए । मन्त्रालय लगायत अन्य निकायबाट आउने बजेट ल्याउन पुरा गर्नुपर्ने प्रक्रिया कारण समय लाग्न सक्ने तर्फ इंगित गर्दै नगर प्रमुख महर्जनले भने, ‘अहिले नगरपालिकाकै बजेटबाट काम गरौँ , पछि शोधभर्ना गरौँला । ’ अहोरात्र काम गरेर भएपनि खानेपानीको समस्या छिटो समाधान गर्ने प्रतिबद्धता नगर प्रमुख महर्जनले गरे । उपप्रमुख मुना अधिकारीले मन्त्री यादवले देखाउनु भएको तदारुकताप्रति धन्यवाद दिइन् । खानेपानीको समस्या गर्न नगरपालिकालाई खानेपानी मन्त्रालय र अन्य निकायको सहयोग अपरिहार्य हुने बताइन् । जिल्ला समन्वय समितिका सभापति ऋषिदेव फुयाँलले असोजको दोस्रो साता गएको बाढीले क्षतिग्रस्त बनाएको खानेपानीको मुहान र संरचनालाई पहिलाकै अवस्थामा ल्याउन सहकार्य आवश्यक भएको बताए ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार