वर्षा रोकिए पनि किन बढ्दै छ, डेंगु ?

काठमाडौं उपत्यकामा मात्रै हप्तामा ७६४ जनामा संक्रमण, तनहुँ र कास्की बढी प्रभावित
बिहीबार, कात्तिक १, २०८१

विगतमा वर्षा रोकिएर चिसो बढ्न थालेसँगै स्वतः घट्ने डेंगु संक्रमणको अवस्था केही वर्षयता ठिक उल्टो देखिएको छ । गत वर्षजस्तै यसपालि पनि मनसुन बाहिरिएपछि डेंगु संक्रमण उकालो लाग्न थालेको छ ।यो वर्ष पानी पर्न छाडेपछि पनि देशभर चार हजार ३० जना डेंगुबाट प्रभावित भइसकेका छन् । पछिल्लो एक सातामा मात्रै एक हजार ९९७ जनामा संक्रमण देखिएको छ । गत वर्ष पनि अक्टोबरमा मात्रै १२ हजार ६९९ लाई डेंगु संक्रमण देखिएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हाल सबैभन्दा धेरै काठमाडौंमा तीन हजार १०३ संक्रमित पुगेका छन् । त्यस्तै, कास्कीमा दुई हजार ८४७, तनहुँमा दुई हजार १०७, पर्वतमा एक हजार ५६२ लाई संक्रमण भएको छ । चितवन, ललितपुर, गोरखा, बागलुङ, भक्तपुर र स्याङ्जामा पनि संक्रमण बढिरहेको छ । पोस्ट मनसुन अर्थात् दसैँ–तिहारको समयमा लामखुट्टे हुर्कने वातावरण अनुकूल बन्दै जाने भएकाले संक्रमण बढिरहेको चिकित्सकहरू बताउँछन् । सामान्यतया वर्षा रोकिएपछि पनि खाल्डाखुल्डी, टायर, गमला वा यस्तै पानी जम्ने स्थानहरूमा लामो समयसम्म पानी स्थिर रहँदा लामखुट्टे हुर्कने वातावरण अनुकूल हुँदा संक्रमणसमेत बढ्ने गरेको चिकित्सकहरूले बताएका हुन् । ‘विनारोकतोक लामखुट्टेको फुल हुर्कने वातावरण बन्ने भएकाले यो समयमा कुनै न कुनै ठाउँमा डेंगुको आउटब्रेक हुने गरेको छ । यो समयमा जमेको पानी तत्काल सुक्दैन र स्थिर रहन्छ । लामखुट्टेले फुल पार्ने र वयस्क लामखुट्टे बन्ने समय पर्याप्त हुन्छ,’ संक्रमण रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने । काठमाडौंमा मात्रै नभई लामखुट्टे हुर्कने अनुकूल वातावरण भएका स्थानमा संक्रमण फैलिने जोखिम उच्च रहेको उनले बताए ।केही व्यक्तिलाई सामान्य लक्षण देखिएपछि निको भए पनि बान्ता हुनु, पेट दुख्नु, गिजाबाट रगत आउनु र कमजोर हुँदै जानु डेंगुका जोखिमपूर्ण लक्षण रहेको डा. पुनले बताए । विभिन्न लक्षणसहित उपचारका लागि पुगेका र परीक्षण गराएकाबाहेक पनि धेरै व्यक्ति डेंगुबाट प्रभावित भएकाले सचेत रहन उनको आग्रह छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले संक्रमण बढ्नुले लामखुट्टे नियन्त्रण अझै प्रभावकारी हुन नसकेको भन्ने देखाएको स्विकारे । ‘डेंगु संक्रमणबाट धेरै प्रभावित हुनुमा लामखुट्टे नियन्त्रणका काम कतिको भइरहेका छन् भन्नेमा निर्भर रहन्छ । अनुकूल वातावरण पाएमा एउटै लामखुट्टेले एकैपटकमा एक हजारभन्दा बढी फुल पार्न सक्ने र सोही दरमा संख्या बढ्ने भएकाले नियन्त्रणका लागि खोज र नष्ट गर्ने अभियान अझैसम्म सञ्चालनमा छ,’ उनले भने । पछिल्लो समय झन् बढ्दै गएको डेंगु संक्रमणबाट काठमाडौं उपत्यकामा मात्रै एक हप्तामा ७६४ जना प्रभावित भएका छन् । यसमा पनि काठमाडौं जिल्लामा बढी छन् । काठमाडौंमा ५३६, ललितपुरमा १८१ र भक्तपुरमा ४७ जनामा डेंगु पुष्टि भएको छ । जनसंख्या बढी भएको काठमाडौंमा संक्रमण फैलिएको देखिए पनि तनहुँ र कास्की बढी प्रभावित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले बताए । ‘तनहुँ काठमाडौंको तुलनामा निकै कम जनसंख्या भएको जिल्ला हो । जनसंख्याको प्रतिशतका आधारमा हेर्दा तनहुँ र कास्की डेंगुबाट बढी प्रभावित भइरहेका छन् । यद्यपि, लक्षण लिएर अस्पताल पुगेकाहरूको मात्रै परीक्षण भइरहेकाले संक्रमणका कारण कहाँ कति प्रभावित छन् भन्ने यकिन तथ्यांक भने उपलब्ध छैन,’ उनले भने ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार