विपत् व्यवस्थापन कार्यकारी समितिको बैठक बस्दै, संकटग्रस्त ७१ पालिकाका लागि प्याकेज आउन सक्ने

बिहीबार, कात्तिक १, २०८१

गृहमन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक आज बिहीबार अपराह्न  सिंहदरबारमा बस्दै छ । अपराह्न ३ बजे राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सभाहलमा बस्ने बैठकमा मध्यअसोजको बाढीपहिरोको क्षतिको समीक्षा गर्दै विपत् संकटग्रस्त घोषित ७१ पालिकामा राहत प्याकेज घोषणा गर्ने एजेन्डा छ। ‘मध्यअसोजको बाढीपहिरोले अतिप्रभावित पालिकालाई संकटग्रस्त घोषणा गरिसकिएको छ, अब पुनर्स्थापना र पुनर्निर्माण पनि अगाडि बढाउनुपर्ने भएकाले सोहीअनुसार निर्णय हुन सक्छ,’ प्राधिकरणका एक अधिकारीले भने। बाढीपहिरोको क्षति मूल्यांकन गर्न  प्राधिकरणका सहसचिव अर्जुन बमको नेतृत्वमा गठित समितिको प्रतिवेदन पनि कार्यकारी समितिमा पेस हुनेछ। समितिले ११ हजार परिवार विस्थापित भएको र ४६ अर्बको क्षति भएको प्रारम्भिक निष्कर्ष निकालेको छ। तर, पुनर्निर्माणका लागि भने थप अध्ययन गर्नुपर्ने भएकाले आजको बैठकले यसबारे पनि निर्णय गर्ने ठानिएको छ। समितिमा सहरी विकास, स्वास्थ्य र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसँगै सचिवहरू सदस्य रहेका छन्। त्यस्तै, नेपाली सेनाका रथी तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सदस्य रहेका छन् भने विपत् प्राधिकरणका कार्यकारी प्रमुख सदस्यसचिव रहने व्यवस्था छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार