साफ महिला च्याम्पियनमा भारतको विजयी सुरुवात, आज दुई खेल हुँदै 

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५–२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४–० को अग्रतामा रहेको भारत दोस्रो हाफमा सुस्त सुरुवात गर्दा दबाबमा भने परेको थियो । पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टीमा गोल गरेको पाकिस्तानले दोस्रो हाफको सुरुवातमा नै अर्को गोल फर्काएको थियो । त्यसपछि लगातार दबाब कायम गरेपनि गोल गर्न नसक्दा पाकिस्तान खेलमा फर्कन सकेन । खेलको पाँचौ मिनेटमै भारतले खेलमा अग्रता लियो । ग्रेस दाङमेइले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारमा गोलरक्षक निशा अशरफले बचाउन सकेनन् । बायाँ विंगबाट रन्जना चानुले दिएको क्रसलाई ग्रेसले नियन्त्रणमा लिँदै सहजै प्रहार गरेकी थिइन् ।
१७ औं मिनेटमा मनिषाले अग्रता दोब्बर पारिन् । मिडफिल्डबाट लगातार पास खेल्दै पाकिस्तानको डिफेन्स बिट गरेर बाला देवीले दिएको अन्तिम पासलाई मनिषाले पेनाल्टी क्षेत्र भित्र लगेर गोल गरिन् ।

India-Vs--Pakisthan-Saff-Womens-Football.00_02_40_10.Still012-1729216153.jpg
२७ औं मिनेटमा ग्रेसको हेडरलाई पाकिस्तानकी गोलरक्षक निशाले डाइभ दिँदै बचाउ गरिन् । लगत्तै प्रियांका देवी नाओरेमको लामो दुरीको प्रहारमा पनि निशाले सहजै बचाइन् । ३६ औं मिनेटमा भारतका लागि बाला देवीले गोल थपिन् । गोलरक्षक निशा अशरफले पेनाल्टी क्षेत्रभित्र धेरै समय बल नियन्त्रणमा लिएको भन्दै रेफ्री अन्जना राईले भारतलाई पेनाल्टी क्षेत्रभित्र इनडाइरेक्ट फ्रिकिकको अवसर दिइन् । मनिषाले फ्रिकिकमा पास दिएपछि बालाले पहिलो टचलाई जाली चुमाइन् । ४३ औं मिनेटमा भारतले अर्को गोल थप्यो । ६ यार्ड बक्सभित्र गोलरक्षकले बल नियन्त्रण लिन नसक्दा ग्रेसले बललाई पोस्टको दिशा दिइन् । पाकिस्तानकी कप्तान मारिया खानले बल बचाउने प्रयास गरेपनि दिशा बदल्न सकिनन् । इन्ज्युरी समयको पहिलो मिनेटमा पाकिस्तानले पेनाल्टीको अवसर पायो । सयौं खेल खेलिरहेकी आशालता देवीले पेनाल्टी क्षेत्रभित्र नादिया खानलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिइन् । सुहा हिरानीले पेनाल्टीलाई टप कर्नरमा गोल गर्दै स्कोर ४(१ को स्थितिमा ल्याइन् ।

India-Vs--Pakisthan-Saff-Womens-Football.00_02_33_12.Still011-1729216157.jpg

दोस्रो हाफको सुरुवातमै पाकिस्तानले कायला सिद्दिकीबाट गोल थप्यो । कर्नरबाट फर्केर आएको बलमा रमिन फरिदले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार कायलाको खुट्टामा पुग्यो । उनले दायाँ खुट्टाले रोकेर बायाँ खुट्टाले प्रहार गर्दै गोलरक्षक पान्थोइ चानुलाई बिट गरिन् । ५८ औं मिनेटमा पाकिस्तानकी कप्तान मारियाले झन्डै ३५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । ६१ औं मिनेटमा पाकिस्तानले गोल गर्ने अर्को अवसर गुमायो । इस्रा खानले बायाँ विंगबाट दिएको क्रसलाई जामेना मालिकले फार पोस्टबाट पोस्टतर्फ दिशा दिन सकिनन् । ६४ औं मिनेटमा पाकिस्तानले अर्को अवसर पायो । नादिया खानले डिफेन्स बिट गरेर दिएको उत्कृष्ट पासलाई अमिना हानिफले पोस्टतर्फ प्रहार गर्न सकिनन् । लगातार अवसर सदुपयोग गर्न नसकेको पाकिस्तानले ७८ औं मिनेटमा भने गोल खायो । डालीमा छिब्बरको कर्नरमा ज्योति चौहानले हेडरमा सहजै गोल गरिन् ।
यस जितसँगै भारतले ३ अंक जोडेको छ । आज १ ः ३० बजे माल्दिभ्स र श्रीलंका खेल्नेछन् भने साँझ ५ः३० बजे नेपाल र भुटान खेल्ने कार्यतालिका छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ०७:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार