रवि लामिछाने पक्राउबारे संसद् सचिवालयले सूचना टाँसेर दियो जानकारी 

आइतबार, कात्तिक ४, २०८१

काठमाडौं । प्रतिनिधिसभाले सूचना प्रकाशित गरेर सांसद रवि लामिछाने पक्राउ परेको जानकारी दिएको छ । संसद् अधिवेशन नचलेकाले संसद् सचिवालयले सांसद लामिछाने पक्राउको जानकारी सूचना टाँसेर दिएको हो । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले शनिबार जारी गरेको सूचनामा चितवन निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछानेलाई फौजदारी कसुरको अनुसन्धानका क्रममा पक्राउ गरिएको उल्लेख छ ।संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार सूचना प्रकाशित गरिएको बताए । प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ मा कुनै सदस्य पक्राउ परेको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्ने उल्लेख छ । तर, बैठक नचलेको अवस्थामा सूचना सार्वजनिक गर्नुपर्ने नियमावलीमा प्रावधान छ । प्रहरीले पक्राउ गर्नेबित्तिकै सांसदको पद भने निलम्बित नहुने अहिलेको नियमावलीको व्यवस्था छ ।  प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) मा प्रचलित कानुनबमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पुर्पक्षका लागि थुनामा रहेको स्थितिमा मात्रै त्यस्तो अवधिभर निलम्बनमा रहने प्रावधान छ । प्रतिनिधिसभा नियमावली २०७५ मा भने कुनै सदस्य फौजदारी अभियोगमा पक्राउ परेर प्रहरी हिरासतमा रहेको अवस्थामा सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त नहुने उल्लेख थियो । त्यस्तो अवधिभर सदस्यले पारिश्रमिक, सेवा र सुविधा नपाउने प्रावधान थियो । अघिल्लो नियमावलीमा रहेको कुनै सदस्य ‘प्रहरी हिरासतमा रहेको अवस्था’ मा सांसद सदस्यको हैसियत र अधिकार खोसिने विषयलाई अहिलेको नियमावलीबाट हटाइएको छ । 

rabi-1729379941.webp
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ०५:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार