आउँदो शनिवार ललितपुर महानगरले बाढीले बगाएको फोहोर संकलन गर्ने

फोहोर संकलनका लागि २ हजारको हाराहारीमा स्वयंसेवक खटिने
सोमबार, कात्तिक ५, २०८१

ललितपुर । ललितपुर महानगरले असोज दोस्रो साता आएको बाढीले बगाएर ल्याएको प्लाष्टिक, कपडा र कागजजन्य फोहोर संकलन गर्ने र उठाउने कार्य शनिवारबाट थाल्ने भएको छ । बाढीले बगाएर ल्याएको यी फोहोर नख्खु र बागमती नदीको किनारामा छन् । फाहोर संकलनका लागि २ हजार भन्दा बढी स्वयंसेवक खटिने छन् । नदी किनारामा थुप्रिएका फोहरमैला सरसफाई सम्बन्धी तयारी बैठकमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले बाढीले बगाएर ल्याएको फोहोर शनिवारदेखि उठाउन बताए । उनले भने, ‘शनिवार बिहान ७ बजे तोकिएको ठाउँमा जम्मा होऔँ, हेर्दा नै लाज लाग्ने गरी छरपष्ट रुपमा रहेका प्लाष्टिक, कागज र कपडा संकलन गरौँ । ’ सफा नभएसम्म गर्छौ । असोज ११ र १२ गतेको बाढीले अन्यत्रबाट बगाएर ल्याएर प्लाष्टिक लगायतका फोहोरले ललितपुर सहरको सौन्दर्य नै बिगारेको बताए । नख्खु र बागमती नदीको किनारालाई प्लाष्टिकले छपक्कै छोप्दा लुगा सुकाए जस्तो देखिएमा दुख व्यक्त गरे ।

LMC-(2)-1729506278.jpg
फोहोर संकलनका लागि ज्यापु समाज ललितपुर, यल नेवा समाज, जिल्ला बहुउद्देश्यीय संघ ललितपुर , सहकारी संघ ललितपुर लगायत अन्य जातीय संघसंस्थाले आफ्ना प्रतिनिधि ल्याउने जनाएका छन् । महानगरको सरसफाई कार्यक्रममा नगर प्रहरी, कर्मचारी पनि सहभागी हुनेछन् । महानगरले सफाई अभियानमा सहभागी हुन सबैलाई आव्हान गरेको छ । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बाढीले महानगरकोे सौन्दर्य ह्रास ल्याएको बताउँदै वातारण संरक्षणको दायित्व सबैको भएको बताइन् । बाढीबाट कम प्रभावित वडाले बढी प्रभावितसँग हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याउँदै सफाईको अभियान निरन्तर चल्ने प्रष्ट पारिन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले सरसफाई अभियानमा जुट्न सबैलाई अनुरोध गरे । स्थलगत अनुगमनमा जाँदा सोचेको भन्दा धेरै क्षति भएको अवस्था देखिएको बताए । ‘अनुगमनमा जाँदा एकदमै भद्रगोल भएको छ , धेरै ठाउँमा सोचेभन्दा बढी क्षति छ । ’ महानगरका प्रवक्ता एवम वडा नं.९का अध्यक्ष राजु महर्जनका अनुसार नदीको किनारामा रहेका वडाहरु बाढीबाट धेरै प्रभावित भएका छन् । वडा नं.५, ६, १२, १६, १५,१९, २०बाहेक अन्य वडा बाढीबाट प्रभावित छन् । प्रवक्ता महर्जनले फोहोर संकलनका लागि क्लस्टर बनाएर क्लस्टर अनुसार स्वयंसेवक परिचालन गरिने बताए । उनले भने, ‘ त्यसकै तयारी स्वरुप हामीले आजको बैठक राखेका हौँ, आजको छलफलमा उठेका विषयलाई समेत समावेश गरेर विस्तृत जानकारी दिन्छौंँ । ’

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार