मितेरी सहकारी प्रकरण : ज्योति गुरुङविरुद्ध इन्टरपोलमा रेड नोटिस जारी गराउने तयारी

मंगलबार, कात्तिक ६, २०८१

काठमाडौं । ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अनियमितता भएको प्रकरणमा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोग पनि लिइने भएको छ । यो सहकारी ठगीबारे अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गुरुङ र भण्डारीको खोजीका लागि इन्टरपोलमा रेड नोटिस जारी गरिदिन भन्दै प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । ब्यूरोका एसपी होविन्द्र बोगटीका अनुसार, उनीहरु विदेशमा भएको आशंकासहित इन्टरपोलमा रेड नोटिस जारी गर्न सिफारिस गरिएको हो । सीआईबीको पत्रका आधारमा अब प्रहरी प्रधान कार्यालयमा रहेको इन्टरपोलको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) ले रेड नोटिस जारी गर्न इन्टरपोलको मुख्यालयलाई पत्र लेख्ने तयारी गरेको छ । इन्टरपोलबाट नोटिस जारी भए इन्टरपोलका सदस्य राष्ट्र रहेका १९५ देशका सुरक्षा निकायले उनको खोजी गर्नेछन् । गुरुङ सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी समेत हुन् । सहकारी विवाद आएपछि उनीहरुले कागजी सम्बन्धविच्छेद गरेको आरोप लाग्ने गरेको छ । सम्बन्धविच्छेद भएपछि पनि गुरुङले सहकारीमा ऋण तिरेको पाइएको छ । प्रहरीका अनुसार, अर्का आरोपी ज्योतिबहादुर भण्डारी भने सहकारीका सदस्य पनि थिएनन् । तर, उनलाई ऋण प्रवाह गरेको भेटिएको छ । सहकारी रजिष्टारको कार्यालय बागमतीले पत्र पठाएपछि सीआईबीले यो सहकारीबारे अनुसन्धान थालेको थियो ।

 

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार