सोसल मिडिया
Contact Us
युनिकोड
मध्यपूर्वमा चलिरहेको द्वन्द्वका बीच भारतले प्यालेस्टाइनका जनताका लागि मानवीय सहायता प्रदान गर्ने महत्त्वपूर्ण कदम चालेको छ । सहायताको प्रारम्भिक चरणमा ३० टन आवश्यक वस्तु छन् जसमा औषधी, शल्य चिकित्सा आपूर्ति, दन्त उत्पादन, सामान्य चिकित्सा वस्तु र उच्च–ऊर्जा बिस्कुटहरू समावेश छन् । यो सहायता सामग्री प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्र राहत र कार्य विभाग (युएनआरडब्लुए) मार्फत वितरण गरिनेछ । सामाजिक सञ्जाल एक्समार्फत विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रणधीर जयस्वालले बताउनुभयो, “भारतले युएनआरडब्लुएमार्फत प्यालेस्टाइनी जनताका लागि मानवीय सहायता पठाएको छ ।” “३० टन औषधी र खाद्यान्न सामग्रीसहितको पहिलो सहायता आज प्यालेस्टाइनतर्फ प्रस्थान गरेको छ । कन्साइनमेन्टमा आवश्यक औषधि र शल्य चिकित्सा आपूर्ति, दन्त उत्पादन, सामान्य चिकित्सा वस्तुहरू र उच्च–ऊर्जा बिस्कुट समावेश छ”, उहाँले एक्समा बताउनुभएको छ । केही दिनअघि विश्व खाद्य कार्यक्रमले उत्तरी गाजाका लागि डब्ल्यूएफपीको आपूर्ति घट्दै गएको चेतावनी जारी गरेको थियो । गत अक्टोबर १२ मा एक्समा डब्लुएफपीले लेखेको छ, “उत्तरी गाजामा बढ्दो हिंसाले खाद्य सुरक्षामा विनाशकारी प्रभाव पारेको छ । अक्टोबर १ देखि उत्तरमा कुनै खाद्यान्न सहायता प्रवेश गरेको छैन ।” यसअघि अक्टोबर २० मा, संयुक्त राष्ट्र सङ्घले बन्धकहरूको रिहाइ, प्यालेस्टिनीहरूको विस्थापनको अन्त्य र मानवीय सहायताको निर्बाध वितरणको तत्काल आवश्यकतालाई जोड दिँदै गाजामा युद्धको अन्त्यका लागि आफ्नो आह्वानलाई नवीकरण गरेको थियो । मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष संयोजक टोर वेन्नेसल्यान्डले जारी गरेको विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घले गहिरो चिन्ता व्यक्त गर्दै भनेको छ, “गाजामा दुःस्वप्न तीव्र हुँदै गइरहेको छ । निरन्तर इजरायली आक्रमण र बढ्दो मानवीय सङ्कटको बिचमा उत्तरी पट्टीमा भयावह दृश्यहरू देखापर्दैछन् ।”