पहिरोका कारण बुङ्मतिका ३५ घर उच्च जोखिममा (भिडियो)  

बुधबार, कात्तिक ७, २०८१

बुङमति (ललितपुर) ।गत असोज दोस्रो साता परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण ललितपुर महानगरपालिका २२ नं. वडास्थित बुङमतिका ३५ घर उच्च जोखिममा छन् । असोज १० र ११ गते परेको अविरल वर्षासँगै आएको बाढी–पहिरोले २२ नं. वडामा एक जनाको ज्यान गएको छ भने दुईवटा पशु चौपाय पनि मरेको वडाअध्यक्ष सागर तुलाधारले शब्दपाटीलाई जानकारी दिनुभयो । ‘बाढी–पहिरोले हाम्रो वडामा ठूलो क्षति पुर्‍याएको छ’ वडाअध्यक्ष तुलाधरले भन्नुभयो, ‘मच्छिद्रबहाल नजिकैका ३५ घर पहिरोको उच्च जोखिममा छन् ।’ ‘बस्तीसँगै रहेको सडकको बीच भागसम्म पहिरोले क्षति पुर्‍याएको छ’, वडाअध्यक्ष तुलाधारले भन्नुभयो, ‘अहिले पनि हामी क्षतिको विवरण संकलन गरिरहेका छौं ।’ पहिरोले क्षति भएको उक्त सडकमा सवारी आवागमन निषेध गरिएको छ । स्थानीयवासीलाई हिँडडुलका लागि सानो क्षेत्रफलमात्रै हिँड्नका लागि छुट्टयाइएको छ । पहिरो गएको ठाउँलाई प्लास्टिक तथा त्रिपालले ढाकिएको छ । क्षति भएको सडकको क्षेत्रफल करिब १५० मिटर जति रहेको वडाअध्यक्ष तुलाधारले जानकारी दिनुभयो । सोही मार्ग भएर रातो मच्छिन्द्रनाथको रथ मच्छिन्द्रबहाल लग्ने गरिन्छ । बस्तीसँगै पहिरो जाँदा बस्ती तलको धानखेतमा ठूलो क्षति भएको छ ।’ झण्डै डेढ सय रोपनी धानखेतीमा क्षति भएको छ वडाअध्यक्ष तुलाधारले भन्नुभयो । बुङमतिको पुरानो नेवारी बस्ती नजिकै गएको पहिरोको क्षति अवलोकनका लागि महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य केही समय अघि त्यहाँ पुग्नु भएको थियो । महानगरका प्रमुख चिरीबाबु महर्जनलाई पनि पहिरो गएको भूभागको फोटो देखाएर अवगत गराइसकेका छौं वडाअध्यक्ष तुलाधरले भन्नुभयो, ‘समय मिलाएर मेयर साव पनि आउनु होला ।’ वडा कार्यालयको बजेटबाट पहिरोबाट क्षति भएको स्थलमा पुननिर्माण कार्य सम्भव नभएको वडाअध्यक्ष तुलाधारले बताउनु भयो । ‘वडाको बजेटबाट त यो सम्भव नै हुँदैन’, उहाँले भन्नुभयो, ‘नगरपालिका, प्रदेश सरकार तथा केन्द्रीय सरकारको बजेटबाट मात्रै पहिरो गएको स्थल जोगाउने कार्य सम्भव होला ।’ शब्दपाटीले सम्पर्क गरेका पहिरो प्रभावित बुङमतिका स्थानीयले आफूहरू निक्यै त्रासमा रहेको बताउँदै सबै निकायबाट पहिरो गएको स्थल जोगाउनेतर्फ लाग्नु अनुरोध गरेका छन् । ‘पहिरोका त्रासका कारण हामी यहाँको घरमा नबसि खेतमा रहेको टहरोमा बस्न गयौं’, पहिरो प्रभावित एक जना स्थानीय...ले भन्नुभयो, फर्केर घरमा बस्न आएको आज तेस्रो दिन हो । टहरोको बसाई चिसो हुन थाल्यो, त्यसैले हामी त्रासै त्रासमा भए पनि फर्केर घरमा बस्न बाध्य भयौं ।’ उनका अनुसार अहिले पनि पहिरो गएको ठाउँबाट पानी बगिरहेको छ त्यो पानीले थप क्षति पुर्‍याउन सक्छ त्यसैले वडा कार्यालयले नै भएपनि पाइपको व्यवस्था गरी पानीको निकासको व्यवस्था गरिदिए हुन्थ्यो । पहिरो गएकै स्थल नजिकै धान सुकाइ रहेको गृहणीहरूले आफूहरूले अघिल्लो वर्षको भन्दा आधा परिमाणमा धान भित्रयाउने बताउनु भयो । नख्खु खोलमाले हाम्रो धान खेतिमा ठूलो क्षति पुर्‍यायो उहाँहरूले भन्नुभयो ।    वडाअध्यक्ष तुलाधरका बुङ्मतिस्थित प्रसिद्ध धार्मिक स्थल कार्यविनायक मन्दिर पनि पहिरोको जोखिममा रहेको छ । कार्यविनायक मन्दिर–मच्छिन्द्रवाहाल जोड्ने झोलुङगे पुलको मन्दिरतर्फको प्रारम्भिक विन्दुमा पहिरो गएका कारण पुल तथा मन्दिर जोखिममा परेको हो । वडा नं. २२ मा बाढी–पहिरोका कारण भएको क्षतिको आँकलनका लागि नगर प्रमुख, उपप्रमुख तथा सम्बन्धित निकायका अधिकारीले अवलोकन गरिसकेको जानकारी दिँदै वडाअध्यक्ष तुलाधारले भन्नुभयो, ‘हाम्रो तालुकवाला निकाय महानगरपालिका हो । हामीले यहाँको क्षतिको विवरण महानगरपालिकालाई दिइसकेका छौं । त्यहाँबाट आवश्यक कदम चालिएला ।’ 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १५:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार