सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (एमाले) जिल्ला कमिटी ललितपुरले बाढी, पहिरो र डुबानका कारण उत्पन्न स्थितिबाट जनजीवनलाई सहज र पूर्ववत् बनाउन आग्रह गरेको छ । सो जिल्ला कमिटीले आज प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा ध्यानाकर्षण पत्र बुझाउँदै मनसुनजन्य विपत्तिलगत्तै सरकारले प्रभावकारीरुपमा खोज, उद्धार र राहतका काम गरेको जनाउँदै अबका दिनमा ललितपुर जोडिएका राजमार्ग, ठूला सडक, विद्युत र सञ्चारका संरचना पुनःसञ्चालन तथा मर्मतका लागि ध्यान दिन आग्रह गरेको छ । सो जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्यले प्राकृतिक विपद्बाट जिल्लामा ४६ जनाको मृत्यु, पाँच बेपत्ता भएका तथा १८ जना उपचाररत रहेको र २१२ भन्दा बढी परिवार विस्थापित हुन पुगेको जानकारी गराए । उनले ललितपुरको पुनः निर्माणका लागि कम्तीमा तीन अर्ब रूपैयाँ बजेट विनियोजन गर्न माग गरेका छन् । ध्यानाकर्षणपत्र बुझेपछि प्रधानमन्त्री ओलीले सरकारले खोज, उद्धार र राहत तथा पुनः व्यवस्थापनका काम प्रभावकारीरुपमा गरिरहेको उल्लेख गर्दै गत वर्षको जाजरकोट भूकम्पबाट प्रभावितको दोस्रो किस्ता बाँकी रहेको अवस्थामा वर्तमान सरकारले निकासा दिन थालेको जानकारी दिए । उनले हुँदै नभएका कमजोरीलाई पनि कमजोरी देखाएर गलत प्रचार गर्ने शैली हुन नहुनेमा जोड दिए । सो अवसरमा एमाले बागमती प्रदेशका इञ्चार्ज डा.राजन भट्टराई, केन्द्रीय सदस्यहरु सुशीला नेपाल, हरिकृष्ण व्यञ्जनकार, बाबुराम थापा, रुपनारायण श्रेष्ठ, बागमती प्रदेश कमिटी सचिव नवराज सिलवाललगायत सहभागी थिए ।