समिति गठनमै रमाए, नियमित काम नै अलमल

बिहीबार, कात्तिक ८, २०८१

१ साउनदेखि नयाँ बजेट कार्यान्वयनमा आउनुपर्छ । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे बोर्ड अध्यक्ष भएको नेपाल नागरिक उड्डयन प्राधिकरणमा अहिलेसम्म चालु आर्थिक वर्ष २०८१/८२ को बजेट आएको छैन । यस्तै समस्या मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डेय अध्यक्ष रहेको नेपाल पर्यटन बोर्डमा उस्तै समस्या छ । बोर्डले समेत अझै चालु आवको बजेट ल्याउन सकेको छैन । उता, नेपाल वायुसेवा निगम यस्तै नियति र समस्याको चाङमा उडिरहेको छ । आफू मातहत निकायको आधारभूत काम समेत पूरा गर्न नसकेका पर्यटनमन्त्री पाण्डेले बिहीबार पछिल्लो सय दिनमा आफूले गरेका कामको विवरण सार्वजनिक गरे । जसमा समिति गठन र विगत आधा दशकदेखि अगाडि बढेका कानुनका ड्राफ्टमा ‘काम भइरहेको’ भन्ने बेहोराबाहेक मन्त्रालयले कुनै ठोस काम गर्न नसकेको देखिन्छ । उनले नेपाल एयरलाइन्सलाई सुधार गरी लैजान यसको व्यवस्थापनलाई कुन मोडलमा लैजाने भन्ने विषयमा गम्भीर छलफल थालिएको बताए । अर्थात उनी अहिलेसम्म नेवानिलाई कसरी सुधार गर्ने भन्ने निष्कर्षमा पुगिसकेका छैनन् । प्राधिकरणका एक उच्च अधिकारी विगतमा अगाडि बढेका कतिपय आयोजनामा स्रोत व्यवस्थापन कसरी गर्ने भन्ने विषय नटुंगिएका कारण बजेट ल्याउन नसकिएको बताए । बोर्डका एक उच्च अधिकारी भने बोर्डमा समयमै बजेट नआउनु बोर्डको परम्पराजस्तै भएको बताउँछन् । ‘सञ्चालक समितिका मान्छेलाई पहिला चासो हुनुपर्ने, कसैलाई चासो छैन,’ उनी भन्छन्, ‘यहाँ यस्तै चलन चल्दै आएको छ ।’

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १६:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार