रवि र छविलाई संगठित अपराधमा पक्राउ गरी अनुसन्धान गर्न रुपन्देही अदालतको अनुमति

लामिछाने र जोशीमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान हुने
बिहीबार, कात्तिक ८, २०८१

पोखरा/बुटवल । सहकारी ठगीसम्बन्धी अनुसन्धानमा पक्राउ परी प्रहरी हिरासत पोखरामा रहेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, उपाध्यक्ष छविलाल बञ्जाडे जोशी पक्राउ गरी संगठित अपराधमा अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले बिहीबार अनुमति दिएको छ । अदालतले राई, जोशी र लामिछानेसहित अन्य १२ जनालाई पक्राउ अनुमति दिएको हो । जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गर्ने अनुमति दिएको हो । पोखरा प्रहरी हिरासतमा रहेका छवि र रविलाई थप अनुसन्धानका लागि कास्की जिल्ला अदालतले बिहीबार नै ७ दिनको म्याद दिएको छ । छविलाई यसअघि नै रुपन्देही ल्याएर १३ घण्टा बयान गराएर पोखरा पठाइएको छ । प्रहरी स्रोतका अनुसार रविलाई शुक्रबार रुपन्देही ल्याउने तयारी भइरहेको छ । रविलाई शुक्रबार ल्याउने तयारी भएपछि प्रहरी र सरकारी वकिलको टोलीले बिहीबारदेखि नै बुटवलको सुप्रिम बचत तथा ऋण बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन भएको सम्बन्धमा अनुसन्धान र बयानका लागि तयारी गरिरहेको छ । दुवै कार्यालयको टोलीले तयारी गरिरहेको स्रोतले बताएको छ । बुटवलको सुप्रिम सहकारीबाट जोशीका नामबाट २ करोड ५० लाख रुपैयाँ र रविका नामबाट २ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको छ । त्यस्तै जिबी, कुमार रम्तेल, भूपेन्द्रबाबु राईसहित गोर्खा मिडियाकै नाममा १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी रुपमा सुप्रिमबाट गोर्खा मिडियामा गएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । सुप्रिम सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड रकममध्ये ७८ करोड रकम अपचलन भएको देखिएको छ । रकम अपचलनमा संलग्न रहेको देखिएपछि यसअघि इलाका प्रहरी कार्यालय बुटवलले गरेको अनुसन्धानपछि रुपन्देही जिल्ला अदालतमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ, संरक्षक जिबी राई, भूपेन्द्रबाबु राई, छविलाल बञ्जाडे जोशी, सहकारीका पूर्वसचिव दीपेश पुन, कुमार रम्तेल, सहकारीका व्यवस्थापक सागर केसी, दुर्गा पाण्डे चापागाईं, रोशनी गुरुङसहित २८ जनालाई प्रतिवादी बनाएर प्रहरीले मुद्दा दायर गरेको थियो । तीमध्ये अध्यक्ष गुरुङ पुर्पक्षका लागि थुनामा छन् । जिबी, भूपेन्द्र, सागर फरार छन् । दुर्गा, दीपेश र रोशनीसहित ६ जना धरौटीमा छुटेका थिए ।

लामिछाने र जोशीमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान हुने
रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री तथा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्व डीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान हुने भएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछाने र जोशीमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा समेत अनुसन्धानका लागि अनुमति दिएको हो । प्रहरी र सरकारी वकिल कार्यालयले बिहीबार छुट्टै प्रतिवेदन बुझाएर सम्पत्ति शुद्धीकरण समेतको कसुरमा अनुसन्धानका लागि एकमुष्ठ २५ दिन म्याद थपका लागि अदालतसँग अनुमति माग गरेका थिए ।
अदालतले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । कास्की प्रहरी प्रवक्ता एवं डीएसपी बसन्तकुमार शर्माले सूर्यदर्शन सहकारी ठगीसँग जोडिएका लामिछाने, जोशी र लिला पछाईंमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान हुने बताए । ‘एउटै मुद्दामा अब तीनवटा अपराधमा अनुसन्धान हुन्छ,’ उनले भने । संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धानका लागि ६० दिनको हद म्याद हुन्छ भने सम्पत्ति शुद्धीकरणमा ९० दिनको हदम्याद रहन्छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १९:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार