दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियो : प्रचण्ड 

शनिबार, कात्तिक १०, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरेका छन् ।  माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले प्रतिपक्षको खबरदारीलाई गम्भीरता पूर्वक लिन आग्रह गरेका हुन् ।  उनले सरकारले बाढीपहिरोको क्रममा चरम लापरवाही गरेको उल्लेख गर्दै उद्धारमा जस्तै राहत र पुनस्र्थापनामा लापरवाही नगरोस् भनेर खबदारी गरे । यो सरकार सुशासनका विरुद्ध बनेको, आफ्नै पार्टी पंक्तिलाई समेत ढाँटेर दलालको घरघरमा गएर रातको १२ बजे बनेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आज सय दिन पुग्दा नपुग्दै आफूहरुले गरेको आशंका सरकार आफैले पुष्टि गरेको दाबी गरे ।  आफूहरुले खबरदारीसभा राख्ने वित्तिकै सत्तारुढ दललाई एक ठाउँमा ल्याएर सडकबाट सरकारको विकल्प खोज्न थालिएको भन्दै होहल्ला गरिएको उल्लेख उनले भने, ‘हामीले सरकार ढाल्न खबरदारीसभा गरेका होइनौं, बरु सरकार ढल्छ भनेर थप बेथिति र भ्रष्टाचारमा नजानुहोला भनेर खबरदारी गर्न मात्रै यो सभा गरिएको हो ।’ 
माओवादीलाई सरकारको चिन्ता नभएको उल्लेख गर्दै उनले बरु आफूहरुले दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गरेर गल्ती गरेको महसुस गरेको स्पष्ट पारे ।  भ्रष्ट र जाली नेताहरुसँग लागेर माओवादी पनि के के हो भन्ने जनतालाई परेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सरकार ढालेर आफूहरुलाई सच्चिन मौका दिएको बताए । अब आफूहरुलाई जनतामा फर्कने अवसर प्राप्त भएको उल्लेख गर्दै उनले जनताको पूर्ण मुक्ति नहुँदासम्म लडिरहने जिकिर गरे । 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार