ललितपुर महानगर २४ नं. वडाद्धारा कर्मनाशा खोलको फोहोर सफाइ (भिडियो) 

आइतबार, कात्तिक ११, २०८१

धापाखेल (ललितपुर)  । ललितपुर महानगरपालिकाको आह्वान तथा  महानगर २४ नं. वडा कार्यालयको संयोजनमा असोज दोस्रो साता आएको बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहोर सरसफाई गरिएको छ । महानगरपालिकाले हिजो शनिबारदेखि बागमती, नख्खु, कर्मनाशा खोलामा थुप्रिएका फोहोर संकलन गर्न थालेको हो । शनिबार बिहानैदेखि जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेवक, महिला समूहका सदस्य समाजसेवीसहितका महानुभाव सरसफाइ अभियानमा सहभागी भएका हुन् । नदी तथा खोला किनारा सफा नभएसम्म यो अभियान जारी रहने ललितपुर महानगरले जनाएको छ । गत असोज ११ र १२ गते आएको बाढीले अन्यत्रबाट बगाएर ल्याएको प्लास्टिक लगायत फोहोरले ललितपुरको सौन्दर्य नै बिगारेको छ । महानगर कार्यपालिका बैठकले फोहोर संकलनमा सहभागी हुन आह्वान गरेको थियो । वडा नं. २४ मा आयोजित सरसफाई कार्यक्रमको शुभारम्भ कार्यवाहक वडाअध्यक्ष निशा मालबुलले गर्नु भएको थियो । 

Ward-24-1730026959.jpg
सरसफाई अभियानमा वडा नं. २४का जनप्रतिनिधि, वडासचिव जनार्दन पौडेल, धापाखेल स्वास्थ्य चौकी प्रमुख गुरुप्रसाद शर्मा, ईश्वर शाक्यसहित स्वास्थ्यकर्मीहरु, महिला समूहका सदस्य, विद्यालय कर्मचारीहरु सहभागी भएका थिए ।  कार्यवाहक वडाअध्यक्ष निशा मालबुलले असोज ११ र १२ गते आएको वर्षाले क्षति भएको खोला वरिपरि सरसफाई गर्नका लागि विभिन्न महिला समूह, विद्यालय, संघ संस्था तथा वडा नम्बर २४ का वडाबासीहरू सरसफाई अभियानमा जुटेको जानकारी दिनुभयो । महानगरका अनुसार नदी किनारमा रहेका वडाहरू बाढीबाट धेरै प्रभावित भएका छन् । वडा नम्बर ५, ६, १२, १६, १५, १९ र २० बाहेक अन्य वडा बाढीबाट प्रभावित छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार