सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर महानगरपालिका २४ नं. कार्यालय धापाखेलको सहयोग तथा वडा स्तरीय महिला समितिको आयोजनामा वडा कार्यालय भवन तीनकुने पोखरीमा समूह ब्यवस्थापन तालिम सम्पन्न भएको छ । महिला समूहको काम कर्तव्य, अधिकार, समूहका अध्यक्ष, सचिव, कोषाध्यक्षको अधिकार तथा जिम्मेवारीका बारेमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिन वडा स्तरीय महिला समितिले ३ दिनसम्म समूह व्यवस्थापन तालिम कार्यक्रम सञ्चालन गरेको हो । समुदायमा बसोबास गर्ने महिलाहरुको सामाजिक, आर्थिक, हकहित रक्षा गर्दै महिलालाई सशक्तिकरण गराउन वडाका विभिन्न टोलहरूमा महिला समूहहरू गठन गरिएको छ । ललितपुर महानगर २४ नं. वडामा १७ वटा महिला समूहहरू क्रियाशील छन् । ती १७ वटा महिला समूह प्रत्येकबाट २ जना प्रतिनिधिहरू उक्त ३ दिने तालिममा सहभागी भएका थिए । टोल, बस्तीस्तरमा नगरपालिकाबाट प्रवाहित हुने सेवामा टोलबासी महिलाहरुको पहुाँच अभिवृद्धि गर्ने, समुदाय स्तरमा हुर्ने कार्यक्रमहरूमा महिलाहरूको सक्रिय सहभागिता वृद्धि गर्ने तथा महिलाहरुलाई सामाजिक, आर्थिक, राजनीतिक विषयमा जागरुक गराउँदै उनीहरूको हक अहिकारप्रति सचेत गराउन तथा लैङ्गिक असमानतालाई अन्त्य गर्दै सामाजिक न्याय एवं समानता कायम गर्न महिला समूहहरूको गठन गरिएको हुन्छ । विभिन्न सीपमुलक तालिमहरु सञ्चालन गरी आयआर्जका क्षेत्रमा महिलालाई अगाडि बढाई आर्थिक रुपमा सबल हुन सहयोग गर्न पनि महिला समूह गठन गर्ने गरिन्छ । प्रत्येक टोलमा गठन भएका महिला समूहहरु नगरपालिकाको महिला शाखामा सूचिकृत हुनु पर्नेछ । समूह व्यवस्थापन तालिम मुख्य प्रशिक्षक हरि महर्जन तथा प्रशिक्षक सुनिता खड्काले दिनु भएको हो । ३ दिने तालिम समापनका अवसरमा आयोजित समारोहमा कार्यवाहक वडाअध्यक्ष निशा मालबुलले महिलाको शत्रु महिला नै हुन्छ भन्ने भनाइलाई खुट्टा मुनि कुल्चिँदै हातेमालो गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आह्वान गर्नुभयो । वडा स्तरीय महिला समितिका उपसंयोजक कमला मालीको अध्यक्ष्तामा आयोजित तालिम समापन समारोहमा वडा सदस्य उद्धव बस्नेतले तीन दिनको तालिम पर्याप्त नभए समयावधि थप्न वडालाई कुनै आपत्ति नभएको बताउनुभयो ।