सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत आज नेपाल र बंगलादेशबीच फाइनल खेल हुँदैछ । दशरथ रंगशालामा आज साँझ साफ च्याम्पियनसिपको फाइनल खेल हुँदैछ । साँझ ६ः३० बजे सुरु हुने उपाधिको भिडन्तमा नेपालले बंगलादेशको सामना गर्दैछ। यि दुई टोली बीच लगातार दोस्रो पटक फाइनल हुँदैछ त्यो पनि दशरथ रंगशालामा नै । नेपाल छैटौं पटक र बंगालादेश तेस्रो साफ च्याम्पियनसिपको फाइनल खेल्ने तयारीमा छन् । यो पटक पनि बंगलादेश उच्च लयमा छ। प्राविधिक रूपमा बंगलादेश अरु टोलीको तुलनामा अब्बल देखिएको छ । त्यसैले बंगलादेशलाई हराउने चुनौतीसँगै मौका पनि नेपाललाई छ। बंगलादेशलाई हराउँदै पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्न नेपाल तयार रहेको टोलीको भनाई छ। उच्च लयमा रहेको बंलादेश विरूद्ध टिम एकजुट भएर मैदानमा उत्रने प्रशिक्षक राजेन्द्र तामाङले बताए । नेपालको सबैभन्दा ठूलो अस्त्रको रूपमा स्ट्राइकर साबित्रा भण्डारी साम्बा रहेकी छिन् । प्रशिक्षक तामाङले दक्षिण एसियाकै स्टार आफ्नो टोलीमा हुनु बलियो पक्ष रहेको बताए । अर्को महत्पूर्ण स्ट्राइकर रेखा पौडेल रातो कार्ड खाएको कारण उनले फाइनल गुमाउने छिन् । उनको ठाउँमा सरू लिम्बुले लिने संभावना छ । सरू भारत विरूद्धको खेलमा बेन्चमा थिइन् । साफ च्याम्पियनसिपमा नेपाल र बंगलादेश यसअघि ४ पटक भिडेका छन । नेपालले दुई पटक सेमिफाइनल र एकपटक समूह चरणमा बंगालादेशलाई हराएको थियो । पछिल्लो संस्करण फाइनलमा बंगालादेशले कथा बदल्न सफल भयो ।
नेपाललाई ३–१ ले हराउँदै पहिलो पटक साफ च्याम्पियनसिप जितेको थियो । यो पटक पनि सबै पक्षमा बंगलादेश बलियो छ । समूह चरणमा साफ च्याम्पियनसिप को सबै भन्दा सफल टोली भारतलाई ३–१ ले हराएको थियो । फाइनल अगाडि प्रशिक्षक पिटर बटलरले फाइनलमा जुन टोलीले माहोललाई थेग्न सक्छ त्यही टोलीले उपाधि जित्ने बताए । नेपाललाई घरेलु दर्शकको साथ रहनेछ । यसलाई पनि टोली मजबुत पक्षको रूपमा लिएको छ। बंगलादेशले इङ्लिस स्टाइलको फुटबल खेलेपनि नेपाली शैलीको फुटबल खेलेर उपाधि जित्ने योजना टोलीको रहेको कप्तान एन्जिला तुम्बापो सुब्बाले बताइन् । इतिहास रच्न र उपाधि जित्ने अन्तिम लडाई आज नेपालले लड्नेछ । सबैले उपाधिको अपेक्षा गरेका छन्। जुन चुनौतीपूर्ण छ असंभव भने छैन । एन्फाले महिला फुटबललाई प्राथमिकतामा नराखे पनि नतिजा दिइरहेको छ। यो पटक उपाधि जितेर हकले महिला फुटबललाई हेर्ने नजर र राखिने प्राथमिकतालाई समेत बदल्ने अवसर नेपाली टोलीसँग रहेको छ । अघिल्लो संस्करणमा जस्तै यसपटक पनि दुई सेमिफाइनल बिल्कुल फरक थिए । बंगालादेशले भुटानमाथि ७(१ को सहज जित निकाल्दा नेपालले भारतलाई हराउन निकै संघर्ष गर्नुपरेको थियो । तनावपूर्ण खेल स्थगित हुने अवस्था बनेको थियो। रेफ्रीको निर्णयमा असन्तुष्ट राख्दै नेपाल नखेल्ने मनस्थितिमा पुगेको थियो। पछि खेल्न राजी भएको नेपाली टोलीले १(० पछि रहेको अवस्थामा सम्बाको गोलबाट खेलमा फर्केको थियो । निर्धारित समय बराबर भएपछि टाइब्रेकरमा ४–२ को जित निकाल्दै नेपाल उपाधि नजिक पुगेको थियो । नेपाली टोली आज अर्को परीक्षाबाट गुज्रनुपर्ने छ ।
फाइनल खेलको टिकट एन्फाले नै विक्री गर्ने साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि अनलाइन टिकट बिक्री बन्द गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार, बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रूपमा मात्र टिकट उपलब्ध हुनेछ । एन्फाका टुर्नामेन्ट (प्रतियोगिता) निर्देशक सञ्जीव मिश्रले फाइनल खेलका लागि ११ हजार टिकट बिक्री गरिने बताउँदै १० हजार टिकट साधारणतर्फ र एक हजार टकट भीआईपीतर्फ उपलब्ध हुनेछन् । दशरथ रंगशालाको क्षमता १५ हजार रहेको भएपनि अनलाइन टिकट किनेकाहरूको रकम फिर्ता गरिने एन्फाले जनाएको छ । टिकट बिक्रीका लागि एन्फा कम्प्लेक्स, भद्रकाली आर्मी गेट र जावलाखेल मैदानमा काउन्टर राखिनेछ । टिकटको मूल्य साधारणका लागि पाँच सय र भीआईपीका लागि एक हजार रुपैयाँ तोकिएको छ । टिकटमा सीमा निर्धारण गरिएका छन्; साधारण प्यारापिटका लागि एकजनाले बढीमा पाँचवटा र भीआईपीका लागि दुईवटा मात्र टिकट किन्न पाउनेछन् । साथै, एन्फाले दर्शकहरूलाई साँझ पाँच बजेभित्र रंगशाला प्रवेश गरिसक्न आग्रह गरेको छ । नेपाल–भारतबीचको सेमिफाइनलमा क्षमता भन्दा बढी टिकट बिक्री गरिएको भन्दै एन्फाले अब टिकट बिक्रीको जिम्मा आफैंले लिने निर्णय गरेको हो । फिफा नियम अनुसार, रंगशालाको कुल क्षमताको २० प्रतिशत कम मात्र टिकट बिक्री गर्नुपर्नेमा सेमिफाइनलमा नियम उल्लंघन भएको एन्फाको ठहर छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले यसअघि खल्तीबाट भिआइपी तर्फ किनिएको टिकटको पैसा फिर्ता गर्न आफूहरुले भनिसकेको जानकारी दिए । उपाध्यक्ष तथा प्रतियोगिता संयोजक दीपक खतिवडाले यसअघि टिकट विक्रीको जिम्मा पाएको कम्पनीले बद्मासी गरकोले एन्फा आफैले टिकट विक्री गर्न लागेको जानकारी दिए । यसैबीच, अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेलका लागि रंगशालामा लैजान नहुने सामग्रीहरूको सूची सार्वजनिक गरेको छ । फाइनल खेलमा उपस्थिति जनाउने खेलप्रेमीहरूको सुरक्षा र व्यवस्थित वातावरणलाई मध्यनजर गर्दै एन्फाले केही सामग्रीहरू रंगशाला भित्र लैजान निषेध गरेको जानकारी गराएको छ । बन्दुक, छुरा तथा अन्य धारिला र घातक हतियार, धुम्रपान र आगो बाल्ने सामग्री, चुरोट, लाइटर, सलाइ आदिमा प्रतिबन्ध, मादक पदार्थ, ठूला झोला, साना झोलाहरू मात्र जाँचपछि अनुमति दिइनेछ, तर ठूला झोलालाई निषेध गरिएको छ । सुरक्षात्मक उपकरण हेल्मेट र यस्तै सुरक्षा सामग्री निषेध गरिएको छ । त्यसैगरी अनुमति बिना झण्डा, ब्यानर, पोस्टर आदि प्रचार सामाग्री पनि खेल हेर्न जाँदा लैजान पाइने छैन । पानीको बोतल, क्यान, पत्थर, धातुका मुद्रा (सिक्का) आदिमा कडाई गरिने छ भने खेलाडी वा रेफ्रीलाई लक्षित गर्ने लेजर लाइट,कुनैपनि प्रकारका लागू औषधहरू र छाता, लिपस्टिक, नेल कटर, कैँची आदिलाई पनि निषेध गरिएको एन्फाले जनाएको छ ।