आज काग तिहार मनाइँदै, यमदीप दान पनि आजै

बुधबार, कात्तिक १४, २०८१

काठमाडौं । कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । आज विभिन्न प्रकारका खानेकुरासहित कागको पूजा गरि मनाइँदैछ ।  बुधबार १७ घडी ८ पला अर्थात् दिउँसो १ बजेर ५  मिनेटसम्म त्रयोदशी रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।  यमपञ्चकको पहिलो दिन कागको पूजा गर्ने विधान रहेको परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । तर घडीपलाका हिसाबले मंगलबार नै त्रयोदशी लागेको समितिले जनाएको छ । सनातन हिन्दु समाजमा यमराजको दूत वा सन्देशबाहक पक्षीको रूपमा कागको पूजा गरिन्छ । कागलाई यमराजको सन्देश सुनाउने दूत पनि मानिन्छ ।  कागको आवाजको प्रकृतिअनुसार राम्रा नराम्रा खबरको अनुमान लगाइन्छ । कागले भूकम्प आदि प्राकृतिक विपत्तिको अग्रिम सूचना पनि दिन्छ भन्ने विश्वास गरिन्छ । काग अत्यन्त चलाख पक्षी हो। अन्नबालीमा लाग्ने किरा–फट्याङग्रा खाएर किसानको सहयोगी बन्ने र फोहोर वस्तु खाइदिएर वातावरण स्वच्छ राख्ने कारण पनि कागको पूजा गरिएको हो ।  कार्तिक कृष्ण त्रयोदशीका साँझ गरिने यमदीपदान पनि बुधबार नै गर्नुपर्ने समितिले जनाएको छ । यद्यपि बुधबार १ बजेर ५ मिनेटदेखि नै चतुर्दशी तिथि लागिसकेको हुनेछ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  ०९:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार