बैगुनी बाढी (भिडियाे)

बुधबार, कात्तिक १४, २०८१
मयुर प्लाई
Global Ime Bank

असोज महिनाको मौसमले दशैं —तिहार नजिकिएको आभाष दिन्छ । तर, यो वर्षको असोजले चाडपर्वको आभाष दिनुभन्दा प्राकृतिक विपत्तिको नराम्रो र नरमाइलो डोबहरु छोडेर गयो । ती नरमाइला डोब खेप्ने मध्येका एक हुन राजु साह । असोजको दोस्रो साता आएको बाढीेले राजुको हुर्कदैं गरेकी छोरीलाई बेपत्ता बनाइदियो । २५-३० लाखको व्यवसायलाई उत्रनै नसक्ने गरी डुबाइदियो । रौतहटका राजु त्यस्तै साढे तीन वर्षअघि आफ्नो थाकथलो छोडेर काठमाडौं पसेका थिए । पौरखमा विश्वास गर्ने उनले नख्खु खोलाको किनारामा जग्गा भाडामा लिएर फलामका ढोेका, झ्याल बनाउने काम थाले । व्यापारले परिवार धानेको थियो । तर, असोज १२ गतेको बाढीले उनको जीवनमा बज्रपात पार्यो । खै , उनलाई नै थाहा छैन उनीमाथि परेको बज्रपातमा खाटा बस्न कति समय लाग्ने हो । कान्छी छोरी बाढीकै भेलसँग बगेको त्यो दृश्य उनको मनासपलटमा घरिघरि आइरहन्छ । छोरी बोलेको आवाज कानमै गुन्जिरहन्छ । छोरीसँग बेपत्ता भएका सहकर्मीले छोरी बोकेर आउँलान् कि भन्ने लागिरहन्छ राजुलाई । यी सबै कुरा बिर्सेर दशैंमा घर जाने योजनामा थिए उनी । तर, गएनन् । कारण एउटै थियो — छोरी आइपुगिहाल्छिन् कि । जेठी छोरी, जो सात वर्षकी छिन्, उनलाई राजुका भाइले बचाए । बाढीको भेलले हुत्याउँदा पनि उनले भतिजीलाई छोडेनन् । एउटी भतिजीलाई त जोगाए । अर्कीलाई जोगाउन नसकेको पीडा उनको अनुहारमा छताछुल्ल देखिन्थ्यो । शिथिल अनुहार लिएर दाजुसँगै बसेका उनी सानी भतिजीको न्यास्रोले टोलाएका थिए ।  सम्झना,न्यास्रो र झझल्कोले मात्रै जीवन चल्ने रहेनछ । बाढी आउनु भन्दा पहिला एडभान्स लिएर काम थालेका थिए राजुले । ती मध्ये केही काम सकिएको थियो तर, डेलिभरी भएको थिएन । केही अन्तिम चरणमा पुगेको थियो । अचकल्टो अवस्थामा रहेका ती कामको  जिम्मेवारीबोध गर्दै राजुले काम थालेका छन् । त्यो ठाउँबाट होइन, अन्यत्रैबाट  । जीवनमा कहिल्यै नसोचेको पीडा दिने ठाउँमा आफू त  परे जाओस्, परचक्रीलाई पनि त्यहाँ नबस्न अनुरोध गर्छन् उनी । काममा केन्द्रित हुन खोजेपनि मरुभूमि जस्तै त्यो कर्मभूमिले उनलाई विचल्लित बनाउँछ । मरुभूमि जस्तै बनेको नख्खुखोलाको तिरैतिरै शब्दपाटीको टिम स्थलगत रिपोर्टिङका लागि पुग्दा निराशालाई चिर्दै राजुले खुशीको कुरा सुनाए । ललितपुर महानगर वडा नं. १४ ले राजुको परिवारलाई टाउको लुकाउन वडा कार्यालय भवनमा बस्ने व्यवस्था व्यवस्था गरिदिएको छ । वडा अध्यक्ष अमृत जंग महतप्रति उनी कृतज्ञत छन् । बिहान, बेलुकाको छाक टारिदिनेहरुको अहिलेसम्म त कमी भएको छैन । आफ्नै वडामा आँखै अगाडि घटेको यो हृदयविदारक घटनाका कारण वडा नं.१४का वडा अध्यक्ष अमृत जंग महत दुखी छन् । धेरै दिनसम्म त्यो घटनाले मन चिमोटिरह्यो उनको । भक्कानिएको मन सम्हाल्न र उनको घाउमा मल्हम लगाउन महतले वडा कार्यालयकै एउटा कोठामा किन नहोस् अस्थायी रुपमा बस्ने व्यवस्था मिलाइदिएका छन् । राजुले अस्थायी रुपमा बनाउने घर निर्माणमा समेत सहयोग गर्ने प्रतिबद्धता महतले गरेका छन् । 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १४:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार