नेपाली कांग्रेसको ललितपुरका बाढी प्रभावितलाई आर्थिक सहायता 

बुधबार, कात्तिक १४, २०८१

ललितपुर । नेपाली कांग्रेस ललितपुरले अविरल वर्षाका कारण  असोज ११ र १२ गते आएको बाढी र पहिरोमा परि ललितपुरमा ज्यान गुमाएका परिवारलाई नगद राहत वितरण गरेको छ । मृत्यु भएका व्यक्तिका परिवारलाई नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जनही २५ हजारका दरले नगद राहत वितरण गरेका थिए । ललितपुरका छ वटा पालिकामा बाढी पहिरोका कारण ४६ जनाको मृत्यु भएको थियो । त्यस्तै नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरद्वारा विपद व्यवस्थापन कोषमा संकलित रकम २ लाख १५ हजार बागमती गाउँपालिका वडा नम्बर ६ आश्रमको सुकुम्बासी बस्तीका पीडित परिवारलाई दिने निर्णय गरेको छ । उक्त स्थानमा बागमती नदीले कटान गर्दा सुकुम्बासी बस्तीका १० घर बगाएको थियो । सरकारले बाढी पहिरो लगत्तै ललितपुरका गोदावरी नगरपालिका, महाङ्काल गाउँपालिका कोन्ज्योसोम गाउँपालिका र बागमती गाउँपालिका यी चार स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । बाढी पहिरोका कारण महालक्ष्मी नगरपालिकामा पनि ठूलो धनजनको क्षति भएकाले महालक्ष्मी नगरपालिकालाई पनि संकटग्रस्त क्षेत्र घोषणा गर्न नेपाली कांग्रेस ललितपुरले माग समेत गरेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार