सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र बंगलादेशबीच जारी फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले पहिलो हाफमा पाएको अवसर सदुपयोग गर्न सकेका छैनन् । सुरुवाती १० मिनेटमा नै दुवै टोलीको प्रहार क्रसबारमा लागेको थियो । बंगलादेशकी गोलरक्षक रुपना चक्माले आज लगातार गल्ती गरिरहेकी छिन् । खेलको पहिलो मिनेटमा नै नेपाल ठूलो संकटबाट बच्यो । गीता राना गोलकिक प्रहार गर्ने क्रममा चिप्लिन पुग्दा उनको प्रहार सिधै तोहुरा खातुनको खुट्टामा पुग्यो । तोहुराको प्रहार क्रसबारको भित्री भागमा लाग्दै फर्कियो । त्यसको रिबाउन्डमा तोहुराकै हेडरलाई गोलरक्षक एन्जिलाले समातिन् । दशौं मिनेटमा नेपालको अग्रता लिने प्रयासमा क्रसबार नै बाधक बन्यो । अमिशा कार्कीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार बारमा लागेको थियो । गोलरक्षक रुपना चक्माले रोक्न नसकेको बललाई साम्बाले पेनाल्टी क्षेत्र बाहिर लागेर अमिशालाई दिएपछि उनले दुई टच लिँदै प्रहार गरेकी थिइन् । खेलको २४ औं मिनेटमा गोलरक्षक रुपनाको अर्को गल्तीमा नेपाल फाइदा उठाउन असमर्थ रह्यो । विमला विकको क्रस रुपनाले ६ यार्ड बक्सनजिक फुस्काए पनि उक्त बलमा साम्बा पुग्न नपाउँदै डिफेन्डर अफिदाले क्लियर गरिदिइन् । पहिलो हाफमा त्यसपछि थप खतरा सिर्जना गर्न सकेनन् ।