२ सय कुकुरको एकैपटक पूजा

  ‘एक दिन मात्रै होइन, सबै दिन कुकुरको पूजा गरौँ, माया गरौँ’
शुक्रबार, कात्तिक १६, २०८१

ललितपुर । पशु अधिकारको क्षेत्रमा काम गर्दै आएको संस्था स्नेहाज केयरले कुकुर पूजाको दिन कुकुर पूजा गरेको छ ।  कुकुरलाई आश्रम दिइएको स्थल स्नेहाज केयर होम्समा रहेका दुई सय कुकुरलाई फूलमालासहित पूजा गरिएको हो ।  पशु सेवा विभागका महानिर्देशक डा.उमेश दाहालले पशु कल्याण विधयेक अन्तिम चरणमा पुगेको बताए । उनले भने, ‘तिहार लगत्तै छलफललाई व्यापक बनाउँछौँ ।’ स्नेहाज केयरले बोल्न नसक्ने प्राणीको अधिकारको लागि गरेको कामको प्रशंसा उनले गरे । उनले भने, ‘धेरै कम मान्छेले मात्रै यस्तो काम गर्न सक्छ, उहाँले गर्नु भएको कामको सम्मान गर्छौं, धन्यवाद दिन्छौं ।’ दाहालले तिहारको बेलामा मात्रै जनावरको पूजा गरेर जनावरको अधिकार सम्मान नहुने धारणा राखे । उनले भने, ‘प्रत्येक पल जनावरको अधिकारको लागि हामी सजग हुनुपर्छ ।’ महिला उद्यमी महासंघका अध्यक्ष एवम रिपब्लिक मिडियाकी सञ्चालक शोभा ज्ञवालीले स्नेहा श्रेष्ठले गरेको कामको प्रशंसा गरिन् । पशुलाई सम्मान गर्ने पर्व तिहारको महिमाको वर्णन गर्दै उनले बोली मार्फत आफ्ना कुरा भन्न सक्ने प्राणीका लागि काम गर्नु असाधारण काम भएको बताइन् ।  विश्व स्वास्थ्य संगठनका सुदन ज्ञवालीले पशुलाई मायासँगसँगै हेरचाह गर्नुपर्र्ने धारणा राख्दै तिहारको बेलामा मात्रै नभई अन्य बेलामा पनि पशु अधिकारको सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे ।  स्नेहाज केयर होम्सका संस्थापक अध्यक्ष स्नेहा श्रेष्ठले तिहारको बेला मात्रै पशु अधिकारको कुरा गर्नु र पूजा गर्नुको अर्थ नहुने धारणा राखिन् । उनले भनिन्, ‘३६५ दिन नै जनावरको अधिकारको लागि काम गरौँ, सम्मान गरौँ । ’ सवारी साधन चलाउनेहरु पनि जनावरको अधिकारप्रति संवेदनशील हुनुपर्ने बताइन् । स्नेहाज केयर होम्समा राखिएका धेरैजसो कुकुर सडक दुर्घटनामा परेका छन् । सवारीसाधनको ठक्करबाट चोट लागेका कुकुरहरुको होम्समा उपचार गरिएको छ ।

snh-1730453776.jpg
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार