सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । गत असोज १० देखि १२ गतेसम्म बाढीले क्षति पुर्याएका सडक–राजमार्गलाई अस्थायी रूपमा मर्मत सम्भार गरेर सञ्चालनमा ल्याइएको छ । बाढीले बढी क्षति पुर्याएको बीपी राजमार्ग मर्मत गरेर दुईतर्फी रूपमै यातायात सञ्चालन गरिएको छ । नागढुंगा–मुग्लिन सडकको विभिन्न खण्डमा खाल्डा पुरेर यातायात सहज बनाउने काम भइरहेको छ । दसैंमा बढी समस्या भएको नारायणगढ–बुटवल सडकमा अहिले सवारी सञ्चालनमा कुनै समस्या नरहेको अधिकारीले बताएका छन् , स्तरोन्नति भइरहेको मुग्लिन–पोखरा खण्डमा पनि सहजै यातायात सञ्चालन गरिएको सडक विभागको भनाइ छ । चाडबाडमा दैनिक १० हजार बढी सवारी साधन गुड्ने बीपी राजमार्गलाई अहिले अस्थायी रूपमा सञ्चालनमा ल्याइएको हो । तर, डेढ महिनाभित्र भने स्थायी संरचना निर्माणकै प्रक्रिया थालिने सडक विभाग महानिर्देशक रामहरि पोखरेलले बताए । काभ्रेभन्ज्याङ–नेपालथोक खण्डको १२ किलोमिटर सडकमा बाढीपहिरोले क्षति गरेको छ । यसको ८।७ किमि सडकखण्ड रोशी खोलाले बगाएको छ । ३।३ किमि सडक कतै भासिएको र कतै चिरा परेको छ । अहिले अस्थायी डाइभर्सन बनाएर यातायातका साधन चलाइएको महानिर्देशक पोखरेलले बताए । बाढीले सडक बगाएको १६ दिनपछि यस खण्डमा यातायात सञ्चालनमा ल्याइएको थियो । ‘अहिले दुइतर्फी नै सडक सञ्चालनमा आएको छ,’ उनले भने, ‘बाढीले क्षति पुगेका सबै सडक अस्थायी मर्मत गरेर सञ्चालनमा ल्याइसकिएको छ ।’ अहिले कुनै पनि सडकमा ठूलो समस्या नरहेको महानिर्देशक पोखरेलले बताए । बीपी राजमार्गमा अप्ठ्यारो र समस्या भएको ठाउँमा सडकलाई सीधा गर्ने गरी पुल बनाइने पोखरेलको भनाइ छ । दुई लेन सडक र पुल गरेर स्थायी संरचना बनाउन ७ अर्ब रुपैयाँ लाग्ने अनुमान छ,’ उनले भने, ‘धेरै भित्तो खन्दा पहिरोको जोखिम हुने भएकाले अब सडक बनाउँदा भित्तो नकाट्ने गरी काम गरिने छ ।’ काभ्रेको चौकी डाँडादेखि मुल्कोटसम्मै सडकमा समस्या छ । अहिले नागढुंगा–नौबिसे सडक खण्डमा भने खाल्डाखुल्डीले गर्दा समस्या छ । नौबिसे–मुग्लिन सडकमा समस्या केही नभएको नागढुंगा–मुग्लिन सडक योजना, पूर्वी खण्डका योजना प्रमुख केशवप्रसाद ओझाले बताए । ‘सडकमा भएका खाल्डाखुल्डी टाल्ने काम भइरहेको छ,’ उनले भने, ‘नागढुंगा–नौबिसे खण्डको धेरै ठाउँमा पहिरो गएको थियो, त्यो खण्डको सबै माटो पन्छाउन सकिएको थिएन, अहिले त्यो पन्छाउने काम भइरहेको छ ।’ यसरी माटो पन्छाउँदा धुलो उड्ने समस्या भएकाले पानी हाल्ने व्यवस्था गरिएको उनले बताए । ‘यो खण्डमा ठूला–ठूला खाल्डा बनाएका थियौं, अहिले सम्याइरहेको भए पनि बाँकी नै छ,’ उनले भने, ‘सोमबारबाट यो खण्ड भएर गुड्ने सवारी चाप बढी छ, तिहारले गर्दा केही दिन सवारी चाप बढ्ने छ ।’ सडक मर्मत र खाल्डाखुल्डी टाल्दा केही समय गाडी रोकिए पनि धेरै ट्राफिक जामको समस्या नरहेको उनको दाबी छ । सडकमा सवारी साधन बिग्रिँदा भने ट्राफिक जामको समस्या हुने गरेको छ । यस्तो अबस्थामा सडक एकतर्फी गरेर बिग्रिएका गाडीलाई निकाल्ने गरिएको उनको भनाइ छ । ‘यसको विकल्पका रुपमा सीतापाइला–धार्के सडक कालोपत्रको काम भइरहेको छ,’ उनले भने, ‘यसमा एक लेन सडक बन्द गरेर काम गर्ने गरिएको छ,’ उनले भने, ‘यसको दूरी २४ किमि छ,तर कलंकीबाट मुख्य सडक हुँदै धार्के निस्कँदा ३४ किमि पर्छ ।’ सीतापाइला–धार्के सडक मझौला र साना सवारीसाधन सञ्चालनका लागि उपयुक्त हुने उनको भनाइ छ । ‘करिब ८० प्रतिशत सवारी साधन यो सडक भएर गुड्ने गरेका छन्,’ उनले भने, ‘ठूला सवारी, कन्टेनरलगायतका साधन यो सडक भएर चलाउन भने समस्या हुने छ ।’ नारायणगढ–बुटवल सडकको खाल्डाखुल्डी अझै टालिसकिएको छैन । जसले गर्दा सवारी चालक कष्ट सहेर गाडी चलाउन बाध्य छन् । यो सडकको विस्तार २०७५ चैत ८ मा थालिएको हो । अहिलेसम्म ५३ प्रतिशत मात्र प्रगति छ । ११३ किलोमिटर सडक विस्तारको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । जुन कम्पनीले काममा प्रगति नबढाउादा ०७९ असोज पहिलो साता एक महिनाको सूचना निकालेर ठेक्का तोड्ने चेतावनी दिइएको थियो । ठेकेदारले काम चाँडै सक्ने प्रतिबद्धता जनाएपछि ठेक्का तोडिएन । नारायणगढ–बुटवल सडकमा सोचेअनुरुप प्रगति नरहेको आयोजना निर्देशनालय ९एडीबी० का आयोजना प्रमुख चूडाराज ढकालले बताए । ‘प्रगति बढाउन भनिरहेका छौं, डिसेम्बरसम्म तोकिएअनुसार प्रगति नबढाए ठेक्का तोड्ने प्रक्रियामा जाने छौं,’ उनले भने, ‘एडीबीको ऋण सहयोगमा बनिरहेका अन्य सडकमा यत्तिको समस्या छैन ।’