सोसल मिडिया
Contact Us
युनिकोड
जान्डर मन्डी अघिपछि जस्तै कार्यालयमा काम गरिरहेका थिए जतिबेला उनले समाचार सुने: नजिकैको नगर फोल्समस्थित एउटा स्कूलमा अर्बपति इलोन मस्क बोल्न आउँदैछन् । “संसारकै सबभन्दा धनी मानिस सितिमिति यहाँका स्कूलमा बोल्न कहिले आउँछन् र ?” मन्डीले मनमनै सोचे । पेन्सिल्भेनिआ राज्यस्थित जम्मा ९ हजार जनसङ्ख्या भएको उक्त फोल्सम नगर एक किसिमले शान्त ठाउँ हो । राजनीतिबारे त्यहाँका बासिन्दा हम्मेसी खुलिहाल्न चाहँदैनन्, अनि राजनीतिक झुकाव दर्शाउने कुनै सङ्केत पनि खासै त्यहाँ देखिँदैन । एउटा अपार्टमेन्ट कम्प्लेक्समा 'लिजिङ एजेन्ट 'को काम गर्ने २१ वर्षीय मन्डीलाई नोभेम्बरको चुनावमा मत दिने इच्छा पनि खासै थिएन । तर जब उनले भिड बढ्दै गएको देखे र उत्साह बढेको अनुभूति गरे उनी पनि मस्कको सम्बोधन सुन्न गए । त्यहाँबाट फर्कने बेलासम्म उनले कमला ह्यारिसभन्दा डोनल्ड ट्रम्पतर्फ आफ्नो झुकाव बढेको पाए । “यदि उनीजस्तो कसैले भन्छ कि यो चुनावले हाम्रो भविष्य निर्धारण गर्छ, यसले आगामी चार वर्षमा को राष्ट्रपति हुन्छ भन्ने मात्र नभइ संसारनै कस्तो हुन्छ भन्ने निर्धारण गर्छ….त्यो भनेको त निकै ठूलो कुरा हो,” उनले बीबीसीसँग भने। “त्यो महत्त्वपूर्ण हो ।”
बदलिएको छवि, खुला राजनीतिक समर्थन
विगतमा मस्कको छवि एक विचित्रका प्रतिभाशाली प्राविधिकको थियो जो राजनीतिको किनारामा मात्र रहन्थे तर अहिले उनले ट्रम्पप्रति पूर्ण समर्थन जनाएका छन् । अमेरिकी जनताको सामु यी ५३ वर्षीय व्यवसायीले आफ्नो समय, ज्ञान तथा ठूलो धनराशी ट्रम्पलाई निर्वाचित गराउन खर्च गरिरहेका छन्– जबकी पर्दा पछाडिबाटै प्रभाव जमाउन रुचाउने अमेरिकी अग्रणी व्यापारी समुदायले दुर्लभै यसरी हाकाहाकी कुनै पक्षको समर्थनमा अघि सरेको पाइन्छ । परम्परागत प्रमुख कार्यकारीहरूले सामान्यतया आफूले रुचाएको उम्मेदवारको पक्षमा पैसा र जनमत बटुल्न महँगा फन्डरेजिङ् डिनर गर्ने गर्थे वा सम्भावित दातालाई ह्याम्टन्सजस्ता ठाउँका तिनका विलासी घरमा डाकिदिन्थे। मस्कको शैली तीभन्दा निकै फरक छ । यसले मानिसहरूलाई मस्कको उद्देश्य के हो भन्ने खुल्दुली बढाएको छ । अग्रणी व्यवसायी वा प्रमुख कार्यकारीहरूका परम्परागत शैली ‘जनताको नजरमा पर्दैन’ भन्छन् मिशिगन विश्वविद्यालयको रस स्कूल अफ बिजिनेसका अन्ट्रप्रनरशीप डिपार्टमेन्टका प्रमुख एरिक गोर्डन । तर ‘मस्कले चाहिँ पर्याप्त चर्चा र गर्वका साथ ती काम गर्छन् जसले उनलाई अरूको तारो पनि बनाएको छ ।’
मस्कको ट्रम्प समर्थक राजनीतिक कार्यसमिति छ जसको नाम अमेरिका पिएसी हो । उक्त समितिले यो निर्वाचन चक्रमा झन्डै १२ करोड डलर खर्च गरिसकेको ओपन सिक्रेट्स नामक एक गैरनाफामूलक ट्रयाकरले जनाएको छ । साथै मस्कको आफ्नै योगदानका कारण उनी राष्ट्रपतीय निर्वाचन दौडमा सबभन्दा धेरै व्यक्तिगत दान दिने व्यक्ति मध्ये पनि परेका छन् । साथै उनले महत्त्वपूर्ण मानिएका राज्यहरूमा मतदाताहरूलाई परिचालन गर्न ट्रम्पका लागि घरदैलो जस्ता काममा पनि सहयोग पुर्याएका छन् । मस्कका एकजना महत्त्वपूर्ण सहयोगी स्टिभ डेभिसलाई –जसले उनको स्पेस एक्स, एक्स तथा बोरिङ कम्पनीमा पनि काम गरिसकेका छन् – ती काममा सघाउन खटाइएको छ ।
निर्वाचन अभियानमा मस्कको व्यक्तिगत संलग्नतालाई मन्डीले सुरुमै ठम्याए । “त्यसले मलाई छक्क पनि पार्यो,” उनले भने। “मतदातालाई प्रभावित पार्न कसैले त्यत्रो समय र पैसा खर्च गरिरहेको छ भने त्यसको पक्कै कुनै कारण होला ।” पेन्सिल्भेनिआका सिनेटर जोन फेटरम्यान जस्ता केही डेमोक्र्याटहरूले निर्वाचन अगाडि पार्टीलाई मस्कले पेश गरिरहेको चुनौतीलाई बेवास्ता नगर्न आह्वान गरिरहेका छन् । मस्कलाई ‘निर्विवाद रूपमा विलक्षण’ ठान्ने मानिसको जमात, जसमाझ डेमोक्र्याटिक पार्टीको पहुँच कठिन भइरहेको छ, उक्त समुदायलाई मस्कले प्रभाव पारिरहेको फेटरम्यान ठान्छन् । जुलाई १३ मा पेन्सिल्भेनिआको बटलरमा भएको हत्या प्रयासपश्चात् ट्रम्पलाई पहिलो पटक आधिकारिक समर्थन दिएका मस्क त्यसयता उनको निर्वाचन अभियानमा लगातार सहभागी छन् र उनले बारम्बार केवल ट्रम्पले मात्र अमेरिकी प्रजातन्त्र ‘जोगाउन’ सक्ने बताउँदै आएका छन् ।
निर्वाचन अभियान अन्तिम चरणमा आइपुग्दा मस्कले 'ब्याटलग्राउन्ड' भनेर कडा प्रतिस्पर्धा हुने र निर्वाचन मत परिणामको लागि निर्णायक हुन सक्ने पेन्सिल्भेनिआ राज्य वारपार भ्रमण गरिसकेका छन् । ट्रम्प र कमला ह्यारिस दुवैजनाले उक्त राज्यमा ध्यान केन्द्रित गरिरहेका छन् । अमेरिकापिएसीले निर्वाचनको दिनसम्म हरेक दिन एकजना मतदातालाई १० लाख डलर दिने घोषणा गर्यो जुन विवादमा पनि पर्यो । भोट हाल्न नाम दर्ता गरेका र एक निवेदनमा हस्ताक्षर गर्नेमध्येबाट छानिएका जोकसैलाई उक्त इनामको घोषणा गरिएको थियो । ह्यारिसबर्ग तथा पिट्सबर्गमा आयोजित नगरसभाहरूमा मस्कले चिठ्ठा विजेतालाई दिइने जस्तै ठूलो चेक छानिएकाहरूलाई दिएका थिए । सभामा सहभागीहरूले ‘इलोन’ भन्दै चिच्याएका थिए । उनीहरूको उत्साहले आफ्नो ‘आत्मामा प्रकाश चम्किने’ मस्कले बताएका थिए । गत साता फिलाडेल्फियामा आयोजित र्यालीमा कंग्रेसवुमन अलेक्जान्ड्रिया ओकासियो-कोर्टेजले मस्कको तालमा नाच्न स्वीकार्ने ‘खानलाउन मुस्किल मानिसहरूका निम्ति दश लाख डलरको आश देखाइएको’ बताएकी थिइन् ।
कतिपय पर्यवेक्षकहरूले चाहिँ उनको उद्देश्यमाथि प्रश्न उठाएका छन् । ट्रम्पसँगको सम्बन्धमार्फत् उनले र उनको व्यापारले फाइदा उठाउन सक्ने उनीहरूले ठानेका छन् । विद्युतीय गाडी चार्ज गर्ने प्ल्याटफर्म चार्जवेका प्रमुख कार्यकारी म्याट टेस्के पनि त्यसै ठान्छन् । “मलाई लाग्छ मस्कको स्वार्थ खासगरि उनलाई महत्त्वपूर्ण लाग्ने उनका व्यवसायसँग सम्बन्धित केही विषयहरू हो जसका नियमनहरूबारे उनले बारम्बार चर्चा गर्ने गरेका थिए,” टेस्केले भने। कोभिड १९ महामारीका समयमा क्यालिफोर्नियामा लागु गरिएका निषेधाज्ञाहरूविरुद्ध मस्क निकै लागिपरेका थिए ।
मिशिगन विश्वविद्यालयका प्राध्यापक गोर्डन त्यसमा सहमत छन् । उनी भन्छन् मस्कले आफूलाई नियामकहरूले रोकिरहेको ठान्छन् अनि सरकारी हस्तक्षेपले उनको रुचिका प्रविधि विकासमा–उदाहरणका लागि स्वचालित सवारी - अवरोध गरिरहेको ठान्छन् । “उनी अग्रणी र कुनै छेकबाररहित व्यवसायी बन्न चाहन्छन् जसले नयाँ बाटो पहिल्याउँछ र जसलाई नियमहरूले रोक्दैन,” गोर्डनले भने । “मस्क अलि भिन्न छन् । उनी मङ्गल ग्रह पुग्न चाहन्छन्,” उनले भने । यदि आफूले चुनाव जिते मस्कले अमेरिकी सरकारको ‘खर्च कटौती’ कार्य निरीक्षण गर्न सक्ने डोनल्ड ट्रम्पले भनेका छन् । त्यही काम उनले नगरे पनि उनको कुरा ट्रम्पले पक्कै सुन्ने छन् र ट्रम्प प्रशासनको निर्णय प्रक्रियामा उनको प्रभाव उच्च हुने छ । मस्क आफैँले चाहिँ अमेरिकामा व्याप्त नियमहरूको ‘अँठयाइपूर्ण बन्धन’ समाप्त पार्न कुनै ‘सरकारी प्रभावकारिता विभाग’को नेतृत्व गर्न आफू खुला रहेको भनेका छन् । तर स्पेस एक्स तथा टेस्लाका निम्ति अर्बौँ डलरका सरकारी ठेक्का पाएको अवस्थामा मस्कले त्यस्तो जिम्मेवारी लिएमा स्वार्थ बाझिने डेमोक्र्याटहरूले बताएका छन् । “त्यो त एकदम अनैतिक र अवैध हुने छ,” क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमका पूर्व प्रमुख आर्थिक तथा व्यापारिक सल्लाहकार लेनी मेन्डोन्काले भने । सरकारी तथा नियामक निकायहरूसँग अन्तरसम्बन्धितहरूले ‘आवाज उठाउन सक्ने’ तर तिनलाई तिनै स्वार्थसँग बाझिने गरी कुनै अधिकारप्राप्त पद दिन नहुने मेन्डोन्काको विश्वास छ । फेडरल इलेक्सन कमिसनका पूर्व जनरल काउन्सल लरेन्स नोबलले निर्वाचन चक्रमा मस्कले घोषणा गरेका इनामको वैधतामाथि प्रश्न उठाए । सुरक्षित कार्य वातावरण अनि उपभोक्ता संरक्षणलाई महत्त्व दिने अमेरिकीहरू यस्ता प्रचारवाजीबाट चिन्तित हुनुपर्ने नोबलले बताए । “हामीलाई थाहा छ कम्पनीहरूलाई खुला छाडिदिने हो भने तिनले के गर्छन्। तिनले नाफा र शेयरधनीको हित अनि प्रमुख कार्यकारीको तलबसुविधालाई सबैभन्दा माथि राख्छन्,” उनले बीबीसीलाई भने । “व्यवसायलाई र सरकारलाई त्यस्तो दृष्टिकोणबाट हेर्ने जोकसैलाई सुरक्षाको जिम्मा दिनु खतरनाक हुने छ,” उनले भने । चलिआएका मान्यता भत्काउने र विद्रोहीको छविमा रमाउने मस्कको निम्ति यो चुनावमा जसले जिते पनि अमेरिकी सरकारसँगको फाइदाजनक सम्बन्ध जारी रहनेमा खासै दुविधा छैन । तर उनको ब्र्यान्ड वा उनको ख्याति अब डोनल्ड ट्रम्पसँग गाँसिएको छ – र उनका क्रियाकलापले उनी त्यसबारे जानकार रहेको जनाउँछ ।-बीबीसी