राष्ट्रिय टिमकी अमिषालाई १ लाख नगदसहित सम्मान

शुक्रबार, कात्तिक १६, २०८१

काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीकी मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले कार्कीलाई १ लाख नगद रुपैयाँसहित शुक्रबार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । अमिषाको प्रदर्शनले नेपाली युवालाई उत्प्रेरणा मिलेको संस्थाले अर्पण गरेको सम्मानपत्रमा उल्लेख छ । अमिषाले बुधबार दशरथ रङ्गशालामा भएको साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा बङ्गलादेश विरुद्ध गोल गरेकी थिइन् । यद्यपि सो खेलमा नेपाल २–१ गोलले पराजित भएको थियो । उनले सेमिफाइनलमा भारतविरुद्ध पेनाल्टी सुटआउटमा निर्णायक पेनाल्टी प्रहार गर्दा नेपालले ४–२ गोलको जित निकालेको थियो । सामाजिक संस्था एसएस फाउन्डेसनले विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । विपदमा परेकालाई सहयोग गर्नेदेखि सामाजिक काम गर्ने व्यक्तिलाई सम्मान गर्दै आएको छ ।

Photos-(11)-1730458001.jpg
फुटबलर प्रीतिलाई ब्यागमान्डुको सम्मान
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता कराते प्रशिक्षक मन्डेकाजी श्रेष्ठले प्रीतिलाई खादा ओढाएर सम्मान गरेका थिए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवार भएको फाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको थियो । नेपाललाई फाइनलसम्म पुर्‍याउन प्रीतिले ३ गोल गर्नुका साथै २ गोलका लागि अवसर सिर्जना गरेकी थिइन् । भारतविरुद्ध सेमिफाइनलमा सावित्रा भण्डारी साम्बाले र फाइनलमा अमिषा कार्कीले गरेको गोलमा प्रीतिले असिस्ट गरेकी थिइन्।
ब्यागमान्डुकी प्रबन्ध निर्देशक मानन्धरले खेलाडीको हौसलाका लागि सम्मान गरेको र भविष्यमा पनि निरन्तरता दिइने बताइन् । ‘खेलाडीलाई हौसला मिलोस भनेर हामीले सम्मान कार्यक्रम गरेका हौं । खेलाडीका सहयोगका लागि हामी सँधै तयार छौं । भविष्यमा अन्य खेलका खेलाडीलाई पनि समेट्दै यो कार्यक्रमलाई अगाडि बढाउने छौं,’ प्रवन्ध निर्देशक मान्धरले भनिन् । सागका दोहोरो स्वर्ण पदक विजेता श्रेष्ठले राम्रो सुरुआत भएको बताउँदै आयोजकलाई धन्यवाद दिए । ‘यो राम्रो सुरुआत हो । यस्ता कार्यक्रमले खेलाडीको मनोबल बढाउँछ । खेलाडीप्रति देखाउनु भएको स्नेहका लागि म आयोजकलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु,’ श्रेष्ठले भने ।

Preti-1730458166.jpg
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  १६:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार