अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

शनिबार, कात्तिक १७, २०८१

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट ९ जनालाई अवैध लागूऔषध सहित पक्राउ गरेको छ ।  कञ्चनपुर, बेलौरी नगरपालिका–९ रतनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३८ मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय मोहन राज भट्टलाई  प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध पोल्याण्ड जस्तो देखिने पदार्थ ३ सय ६० ग्राम सहित धादिङ गजुरी गाउँपालिका–८ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले पालुङबाट काठमाडौंतर्फ आउँदै गरेको ना.४ ख ४१०१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका–५ हलचोक चौतारा नजिक डेरा गरी बस्ने धादिङ सिरानचोक गाउँपालिका–४ घर भएकी ३७ वर्षीया चमेली ग्याल्वा तामाङलाई अवैध लागूऔषध गाँजा करिब ४ किलो ४ सय ग्राम र पोल्याण्ड २ किलो २ सय ग्राम सहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका–२ भानु चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित मोरङ केराबारी गाउँपालिका–५ सतिसाले बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले बरगाछीबाट भानुचोकतर्फ आउँदै गरेको बा.८० प १२२३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, टिकापुर नगरपालिका–२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१ बस्ने २२ वर्षीय निर्मल शाही, २२ वर्षीय भरत कुँवर, २३ वर्षीय दमन ढुंगाना, २१ वर्षीय सचिन भण्डारी र सोही नगरपालिका–२ बस्ने २३ वर्षीय निराजन रावल रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  ०९:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार