दशैँलक्षित चिनियाँ सामान तिहारमा पनि आएनन्

व्यवसायीलाई 'करोडौँ रुपैयाँको क्षति'
आइतबार, कात्तिक १८, २०८१

काठमाडाैं । चीनतर्फका दुई मुख्य व्यापारिक नाका रसुवागढी र तातोपानीलाई लिएर नेपाली व्यवसायीका अनुभव पछिल्लो केही वर्षदेखि नै सुखद छैनन् । कहिले भूकम्प त कहिले कोभिड महामारी भन्दै सहज रूपमा सामान आयातनिर्यात गर्ने सकस झेलेका उनीहरू यस पटक पनि असोज दोस्रो साताको विध्वंसकारी वर्षाको असरका कारण नराम्रोसँग प्रभावित बने । यस पटक चीनतर्फ सडक र पुलमा पुगेको क्षतिले मालवाहक ट्रकहरू कैयौँ सातासम्म आउजाउ गर्न सकेनन् । "दशैँलाई भनेर ल्याउन लागिएका सामान तिहारसम्म पनि आइपुग्ने अवस्था बनेन," नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका सभापति रामहरि कार्की भन्छन्, "लत्ताकपडा वा इलेकट्रोनिक्स सामान अरू बेलालाई पनि काम लाग्छ भनेर चित्त बुझाउने अवस्था हुन्छ । तर स्याउ र लसुनजस्ता खानेकुरा कुहिएर बिजोग छ ।" भन्सार अधिकारीहरू चीनतर्फका ठूला गोदाममा केही कन्टेनर फलफूल कुहिएर फ्याँकिएको विवरण आएको बताउँछन् । "चिस्यानमै राखिएको भनिएको लसुनका दुई ट्रक हालै भन्सार आइपुग्दा समेत कुहिएर गन्ध आएको थियो । व्यापारीहरू चिन्तामा थिए," रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्रप्रसाद प्याकुरेल भन्छन् । "यसपटक भएको अनपेक्षित अवरोधले राज्यलाई राजस्व र व्यापारीको लगानी दुवैमा ठूलो धक्का पुग्यो ।" रसुवागढी नाकामा चीनतर्फको भूभागमा सडकमा क्षति पुगेका कारणले त्यो पूर्ण रूपमा बनिसक्न अझै केही साता वा महिना लाग्न सक्ने छ । गत महिना भीषण वर्षाले भोटेकोशीको बेलिब्रिज र तातोपानीनजिकै लिपिङखोलाको पुल बगाएको थियो । कोदारी राजमार्ग समेत धेरैतिर अवरुद्ध बनेपछि हाल अस्थायी उपाय अपनाएर त्यसलाई सञ्जालनमा ल्याइएको छ । सामान्य अवस्थामा रसुवागढी र तातोपानी भन्सारले मासिक दुई अर्ब रुपैयाँ हाराहारीमा राजस्व सङ्कलन गर्छन् । रसुवागढी हुँदै चीनबाट सबैभन्दा बढी सामान नेपाल आउने गर्छ ।

तातोपानीनजिकै लिपिङखोलाको पुल बगाएपछि अस्थायी डाइभर्सन बनाएर नाका सञ्चालन गरिएको छ

चाडबाडमा 'करोडौँ रुपैयाँ गुम्यो' 

नेपाली व्यवसायीहरूले ल्याएका सामानमा तिहारलक्षित झिलिमिली बत्ती र अन्य इलेक्ट्रोनिक्सहरू समेत थिए । सङ्घका अध्यक्ष कार्कीले चीनसँगको स्थल नाका प्रयोग गरी सामान ल्याउनेहरू 'सीमित पैसा' मा निर्भर रहेर साना र मझौला व्यापार गर्नेहरू हुने भन्दै त्यसको असर थप बढ्ता देखिने बताउँछन् । "ठूला व्यापारी समुद्री मार्ग हुँदै भारतबाट पनि सामान ल्याइरहेका हुन्छन्। तर यी नाकामा दश-बीस पोका सामान ल्याएर व्यापार गर्नेहरू जोडिएका हुन्छन्," अध्यक्ष कार्की भन्छन् । "हामीले अहिलेसम्म गरेको क्षतिको प्रारम्भिक मूल्याङ्कन करिब ३० करोड रुपैयाँ छ ।" दैवी प्रकोपजस्ता त्यस्ता अवस्थाले सिर्जना गर्ने असरको पूर्ति गर्ने गरी बीमाको व्यवस्था पनि नरहेकाले ती सम्पूर्ण क्षतिको भार व्यवसायीमै पर्ने अध्यक्ष कार्की बताउँछन् ।  डेढदेखि दुई सातामै पनि चीनमा किनिएका सामान नेपाल आइपुग्ने भएकाले नेपालमा हुने सानाठूला चाडबाड र कार्यक्रमलाई लक्षित गर्दै खुद्रा र दैनिक उपभोग्य सामानहरू यी दुई नाकाबाट धेरै ल्याइने गरिन्छ । "अब त तिहार नै चलिसकेकाले आफ्ना सामानको घोषणा गर्न व्यापारीहरू समेत कमै आउन थाल्नुभएको छ," रसुवा भन्सार कार्यालयका प्याकुरेल भन्छन्, "तर नेपालबाट सामान लिनका लागि खाली ट्रकहरू गइरहेका छन् । दैनिक ५० वटाजति ट्रकहरू त्यसतर्फ गइरहेका छन् ।" चीनका विभिन्न प्रान्तबाट दुई दर्जनभन्दा बढी प्रकारका फलफूल तथा तरकारी तिनै नाका हुँदै नेपाल आउने गर्छन् ।

नेपाल र चीनबीच स्थलमार्गबाट हुने अधिकांश व्यापार रसुवागढी नाकाबाट हुने गरेको छ

अझै केही साता असहज

नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अनुसार दुवै नाका 'सुस्त गति'मै भए पनि सञ्चालनमा आएका छन् । तर लगातार कैयौँ साता अवरुद्ध भएका कारण सामान्य अवस्थामा फर्कनै थप कैयौँ साता लाग्ने देखिएको छ । तातोपानीतर्फको लिपिङ खोलामा अस्थायी डाइभर्सन बनाएर अवरुद्ध नाका सञ्चालनमा ल्याइएको छ भने रसुवागढीतर्फको अवरुद्ध सडक 'एकतर्फी ट्र्याक' बनाएर सञ्चालनमा ल्याइएको व्यवसायीहरू बताउँछन् । "त्यस कारण सामान लिएर आउनका लागि रसुवागढीतर्फ चाप बढी छ । त्यहाँ यो सामान्य हुन दुई साताभन्दा बढी समय लाग्ने देखिएको छ," सङ्घका अध्यक्ष कार्की भन्छन् । "रसुवागढी सामान आइपुग्ने चीनको केरुङमा ६०० ट्रक बराबरको सामान छ । त्यहाँ दुईतर्फी बाटो सहज हुन एक महिनाजति लाग्ने चिनियाँ पक्षले बताइरहेका छन् । तातोपानीमा ३०० जति ट्रकहरू रहे पनि त्यो खुकुलो हुने क्रम अलि तीव्र छ ।"  रसुवागढी-केरुङतर्फ मङ्गलवारबाट एकतर्फी सडक सञ्चालनमा आएको छ। चिनियाँ समय नेपालको भन्दा साढे दुई घण्टाअगाडि भएकाले उक्त नाका नेपाली समय अनुसार बिहान ८ बजेदेखि दिउँसो तीन बजेसम्म सञ्चालन हुने गर्छ । रसुवा भन्सार कार्यालयका प्याकुरेल भन्छन्, "चीनतर्फ जोडतोडले काम भइराखेको भनिएको छ। अब सहज अवस्था कहिले आउँछ भन्ने कुरा वहाँहरूकै कामको रफ्तारमा निर्भर रहन्छ ।"-बीबीसी 

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  ०५:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार