सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई मङ्गलबार अदालतले तेस्रो पटक म्याद थपेको हो । लामिछानेलाई कात्तिक २४ गतेसम्म अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । पहिलो पटक कात्तिक ४ गते उनलाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । दोस्रोपटक सात दिन म्याद थप भएकोमा तिहार बिदा परेकाले मङ्गलबारमात्र लामिछानेलाई अदालत लगिएको थियो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेसहित चार जनालाई थप १० दिन म्याद थप गरेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा कास्कीको सूर्यदर्शन सहकारीबाट अवैध रुपमा रकम लगी हिनामिना भएको आरोप छ । सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न लामिछानेलाई थप २५ दिन हिरासतमा राख्ने अनुमति माग गरिएको थियो । लामिछानेको पक्षबाट अधिवक्ताहरू नारायण घिमिरे, नारायण कँडेल, सुशील पन्तलगायतले बहस गर्दै बयान सकिएकाले रिहा गर्न माग गरेका थिए । लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी कास्की प्रहरीको हिरासतमा राखिएको छ । सहकारी पीडितको तर्फबाट अधिवक्ता युवराज पराजुली र सरकारी वकिल कार्यालयकी सविता काफ्लेले थुनामै राखी अनुसन्धान गर्नुपर्नेमा जोड दिएका थिए । लामिछानेसँगै सूर्यदर्शन सहकारीकै रकम ठगी आरोपमा पक्राउ परी कास्की प्रहरीको हिरासतमा रहेका गोरखा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, लीला पछाई र रामबहादुर खनालविरुद्ध पनि १० दिन म्याद थप भएको छ । सूर्यदर्शन सहकारीमा एक अर्ब ३५ करोड अपचलन भएकोमा साढे पाँच करोड गोरखा मिडियामा गएको देखिएको छ भने एक करोड लामिछानेकै नाममा सहकारीबाट जम्मा भएको देखिएको छ ।