सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका तोकेको एक अमेरिकी डलरको विनिमय दर १३५.१६ रुपैयाँ रहेको छ । केही दिनयता अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै गएको छ । सोही क्रममा डलरको विनिमय दरले निरन्तरजसो नयाँ रेकर्ड बनाउँदै आएको हो । हिजो बुधबार एक अमेरिकी डलरको विनिमय दर १३४.८८ रुपैयाँ थियो । मंगलबार यस्तो दर १३४.८९ रुपैयाँ पुगेको हो । राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको खरिद मूल्य १३४.५६ रुपैयाँ तोकेको छ । राष्ट्र बैंकका अनुसार ०८१ असार मसान्तको तुलनामा गत भदौ मसान्तमा अमेरिकी डलरसाग नेपाली रुपैयाँ ०.४ प्रतिशतले अवमूल्यन भएको छ । गत वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.२ प्रतिशतले अवमूल्यन भएको थियो । ०८१ भदौ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३३.९३ रुपैयाँ पुगेको छ । २०८१ असार मसान्तमा उक्त विनिमय दर १३३.३६ रुपैयाँ थियो । विश्वबजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो । यद्यपि हालैको राष्ट्रपतिको निर्वाचनका कारण डलरको भाउ अपेक्षित रूपमा बढ्न सकेको थिएन । लगानीकर्ताले निर्वाचनको नतिजा पर्खेकाले पर्ख र हेरको अवस्थामा थिए । बुधबारसम्म अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति कमला हृयारिसमाथि विजय प्राप्त गरिसकेका छन् । यो नतिजापछि लगानीकर्ताको आकर्षण डलरमा बढेको बताइएको छ । ट्रम्पले आफ्नो चुनावी घोषणापत्रमा अमेरिकी डलरलाई पुनः रिजर्भ करेन्सीका रूपमा विकसित गर्ने उल्लेख गरेका छन् । अब उनी फेरी राष्ट्रपति भएपछि घोषणापत्रमा उल्लेख गरेअनुसार डलरलाई रिजर्भ करेन्सीका रूपमा विकसित गर्ने अनुमानका आधारमा लगानीकर्ताको डलरप्रति आकर्षित बढेको जानकारहरू बताउँछन् । राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै अमेरिकी डलरको भाउ बढ्ने भएकाले विश्व बजारमा सुनको मूल्य घट्ने सम्भावना रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । यद्यपि राष्ट्रपतिका रूपमा दोस्रो कार्याभार सम्हालेपछि ट्रम्पले डलरको सम्बन्धमा कस्तो नीति लिन्छन, त्यसका आधारमा सुनको मूल्य निर्भर रहने शाक्यको भनाइ छ । डलरको भाउमा आएको उतारचढाबले भारतीय मुद्रा (भारु) प्रत्यक्ष प्रभावित हुने र त्यसको असरले नेपाली मुद्रा बलिया वा कमजोर हुने जानकारहरू बताउँछन् । नेरु र भारुबीच स्थिर विनिमय दर छ ।