सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको पहिलो टी–२० क्रिकेटमा भारत विजयी भएको छ । चार खेलको सिरिजमा भारत ६१ रनले विजयी हुँदै १–०को अग्रता लिन सफल भएको हो । टस हारेर पहिले ब्याटिङ रोजेको भारतीय टोलीले सञ्जु सामसनको १०७ रनको विस्फोटक इनिङ्सले २० ओभरमा ८ विकेट गुमाएर २०२ रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिकाले १७ दशमलव ५ ओभरमा १४१ रन मात्र बनाउन सक्यो । लक्ष्य पछ्याउने क्रममा घरेलु टोलीलाई पहिलो ओभरमा अर्शदीप सिंहले पहिलो झटका दिएका थिए । उनले कप्तान एडेन मार्करामलाई आफ्नो शिकार बनाए । उनले आठ रन मात्रै बनाउन सके । यसपछि चौथो ओभरमा आवेश खानले ट्रिस्टन स्टब्सलाई आउट गरे । उनी पनि ११ रन बनाएर प्याभिलियन फर्किए । यसबाहेक रायन रिक्लेटन पनि २१ रन बनाएर आउट भए । ४४ रनको स्कोरमा तीन विकेट गुमाएको दक्षिण अफ्रिकालाई लामो र बलियो साझेदारीको खाँचो थियो । यस्तो अवस्थामा हेनरिक क्लासेन र डेभिड मिलरले जिम्मेवारी लिए । दुवैबीच चौथो विकेटका लागि ४२ रनको साझेदारी भएको थियो । जसलाई वरुण चक्रवर्तीले तोडेका थिए । उनले एउटै ओभरमा दुवैलाई आउट गरे । क्लासेन २५ रन र मिलर १८ रन बनाएर आउट भए । यसबाहेक प्याट्रिक क्रुगरले एक, मार्को जेन्सेनले १२, एन्डिले सिमेलेनले ६, जेराल्ड कोएट्जीले २३, केशव महाराजले पाँच र पिटरले पाँच ८ रन बनाए । भारतका लागि वरुण र रवि बिश्नोईले तीन–तीन विकेट लिए भने आवेश खानले दुई विकेट लिए । अर्शदीप सिंहले एक विकेट हात पारेका थिए ।
टस हारेर पहिले ब्याटिङमा आएको भारतीय टोलीले सामान्य सुरुवात गरेको थियो । सन्जु सामसन र अभिषेक शर्माबीच पहिलो विकेटका लागि २४ रनको साझेदारी भएको थियो । कोट्जेले भारतको साझेदारी तोडेका थिए । उनले ७ रन बनाएका अभिषेकलाई पहिलो विकेटको रुपमा आउट गरे । त्यसपछि सूर्यकुमार यादवले सञ्जुसँग दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए । कप्तान यादव १७ बलमा २१ रन बनाएर आउट भए । त्यसपछि तिलक वर्माले सामसनलाई साथ दिए । यी दुईबीच ७७ रनको साझेदारी भयो । तिलक ३३ रन बनाएर आउट भए । विकेटकिपर ब्याट्सम्यान सामसनले ४७ बलमा शतक बनाए । उनको टी–२० अन्तर्राष्ट्रिय करियरको यो दोस्रो शतक हो । उनले लगातार दोस्रो खेलमा शतक प्रहार गरे । भारतका लागि हार्दिक पाण्ड्याले २ रन, रिंकु सिंहले ११ रन, अक्षर पटेलले ७ रन, रवि बिश्नोईले एक रन र अर्शदीप सिंहले ५ रन बनाए । दक्षिण अफ्रिकाका गेराल्ड कोएट्जीले ३ विकेट लिए । यसबाहेक मार्को जेनसेन, केशव महाराज, पिटर र क्रुगरले एक–एक विकेट लिए । भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टी–२० आइतबार हुने छ ।