सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह स्वदेश फिर्ता भएका छन् । १८ कात्तिकमा वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन इजिप्टको कायरो प्रस्थान गरेका उनी शनिबार स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएसँगै विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपालले बस्ती विकासका क्रममा भोगेका समस्या, जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या र बस्ती विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराएको बताए । उनले भने, ‘सहरहरू निर्माण गर्नको लागि हामीले धेरै हाइलाइट गरेका छौं । जलवायु परिवर्तनका कारण सहरहरुमा अति वृष्टि हुने, तथा हिमालहरुबाट लेकहरु फोर्स भएर ट्राइजिटिहरु हुने भएका कारणले भोगिरहेको समस्या र बस्ती विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराएका छौं ।’ साथै, उनले नेपालको सहरहरुलाई विकास गर्न सबै राष्ट्रको सहयोगको आवश्यक्ता रहेको समेत ध्यानाकर्षण गराएको बताए । उनले आउने दिनहरुमा स्थानिय तहदेखी नै यस्ता कार्यक्रमहरुमा सहभागिता जनाउँदा कामहरु दिगो तरिकाले गर्न सकिने समेत बताए । ‘विश्वको ध्यानाकर्षण गराउन इजिप्ट भ्रमण सफल’ उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री सिंहले नेपालले सहरीकरणमा भोगिरहेको समस्या समाधानका लागि विश्व समुदायको ध्यानाकर्षण गराउन इजिप्ट भ्रमण सफल भएको बताएका छन् । इजिप्टको कायरोमा सम्पन्न वर्ल्ड अर्बान फोरममा सहभागी भएर नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले भ्रमण उपलब्धिमूलक भएको दाबी गरेका हुन् । नेपालमा सहरी विकासका क्षेत्रमा भइरहेको काममा नेपालसँग सहकार्य गरिरहेका एजेन्सी सन्तोषजनक रहेकाले आगामी दिनमा सहरीकरणका काम प्रविधियुक्त र थप प्रभावकारी रूपमा अघि बढ्ने बताए। उपप्रधानमन्त्री सिंहले कायरोमा सम्पन्न फोरममा नेपालले सहरीकरणको क्षेत्रमा हासिल गरेको प्रगति र भोगिरहेको समस्याबारे विश्वकै ध्यानाकर्षण गराउन सफल भएको पनि दाबी गरे । ‘‘जलवायु परिवर्तनले गर्दा सहरहरूमा अतिवृष्टि हुने, बाढी आउने, हिमालहरूमा हिमपहिरो आउँदा विपद्का घटना हुने गरेको छ । तर, नेपाल यस्तो देश हो विश्वमा, जसले प्रदूषण कम गर्छ तर जलवायु परिवर्तनको असर भने धेरै खेप्नु परिरहरेको छ ।’’ उपप्रधानमन्त्री सिंहले भने, ‘‘जसले गर्दा ग्रिन फाइनान्सिङको कुरामा युन एन ह्याबिट्याटले संयुक्त राष्ट्रसंघसँग कुरा गरेर नेपाललाई सहयोग पुर्याउनुपर्नेमा जोड दिनुपर्छ भन्ने कुरालाई मैले उठाएको छु । आउँदा दिनमा हामीले गरेको प्रयासको लाभ देखिन्छ ।’’ तथ्य र तथ्याङ्कमा आधारित योजनामा युएन ह्याबिटेटको निरन्तर सहयोगको प्रतिबद्धता रहेको भन्दै उहाँले दिगो सहरीकरणका लागि बलियो सहकार्य गर्न संयुक्त राष्ट्रको समर्थन नेपालका लागि सकारात्मक रहेको सिंहको भनाइ थियो । वर्ल्ड अर्बान फोरममा नेपालले आफ्ना विषयहरू विश्व मञ्चमा जोडदार रूपमा उठाएको र भ्रमण फलदायी भएको उनले बताए । मन्त्रालय तहको छलफलमा ७७ राष्ट्रका सहरी विकाससँग सम्बन्धित मन्त्रीहरू सहभागी भएको पनि उनले जानकारी दिए। एक सय ८२ देशको सहभागिता रहेको फोरममा अहिले सहरी विकासको क्षेत्रमा संसारभरको ट्रेन्ड के छ ? आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारे महत्त्वपूर्ण छलफल भएको उनले बताए । सहरीकरणमा स्थानस्तरबाटै सबैलाई सहभागी गराएर जानुपर्छ भन्नेमा जोड दिँदै उनले आगामी दिनमा सहरीकरणको क्षेत्रमा युएन ह्याबिट्याटसँगको सहकार्य थप बलियो हुने विश्वास व्यक्त गरे । सिंहलाई अन्तर्राष्ट्रिय विमानस्थलमा वन राज्य मन्त्री रुपा विक, प्रतिनिधिसभा सदस्य राजन केसी, संविधान सभा सदस्य दीपक कुइँकेल, बाग्मती प्रदेश सांसद दीपेन्द्र श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल लगायतका कांग्रेस नेता कार्यकर्ताले स्वागत गरे ।