सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । युएईमा जारी यु १९ महिला विश्वकपको एसिया छनोटको तेस्रो खेलमा शनिवार नेपाल घरेलु टोलीसँग पराजित भएको छ । नेपाल युएईसँग १३ रनले पराजित भएको हो । १ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान पुजा महतोले ४३ बलमा ५ चौकाको सहयोगमा ४८ रन बनाउदै आउट भइन् । साना प्रविन र सोनी पाख्रिनले समान १९ तथा ज्योत्सिका मरासिनीले नट आउट ११ रन जोडिन् । युएईका लागि मेहक ठाकुर, लाभन्या केन्य र इदुजा नन्दकुमारीले समान १ विकेट लिए । त्यसअघि युएईको अजमानमा टस जितेर ब्यटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २२ रनको योगफल तयार गरेको थियो ।
युएईका लागि रनिथा रजिथाले ३३ बलमा ५ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४८ रन जोड्दा ओपनर लाभन्या केन्यले ३२ बलमा २० बनाइन् । इदुजा नन्दकुमारीले १२ रन जोड्दा अन्य ब्याटरले दोहारो अंकमा रन बनाउन सकेनन् । युएई एक समय ११ ओभरमा २ विकेट गुमाएर ७८ रन बनाएको थियो । विशाल योगफलतर्फ जादै गरेको युएईविरुद्ध नेपाली टिमले उत्कृष्ट पुनरागमन गर्दै पछिल्लो ९ ओभरमा ५ विकेट लिदै ४४ रन मात्र खर्चिएको थियो । नेपालका लागि रिया शर्माले ३ तथा सिमाना केसी, पुजा महतो र कृष्मा गुरुङले समान १ विकेट लिए । ३ खेलमा अपराजित युएई ३ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपाल समान खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता छ । नेपालले चौथो खेलमा आइतवार थाइल्यान्डसँग खेल्नेछ । पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसँग खेल्ने नेपालको अन्तिम खेलमा कात्तिक २८ गते युएईसँग रहेको छ। छनोटको शीर्ष टोली विश्व कपका लागि छनोट हुनेछ । विश्व कप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।