महिला साफ च्याम्पियनशिप

टिकट बिक्रीमा अनियमितता र भ्रष्ट्राचार भएको एन्फा बरिष्ठ उपाध्यक्ष खडकाको दाबी

आइतबार, कात्तिक २५, २०८१

काठमाडौं । अखिल नेपाल फुटबल संघका बरिष्ठ उपाध्यक्ष वीरबहादुर खडकाले हालै नेपालमा सम्पन्न महिला साफ च्याम्पियनशिप २०२४ को गेट टिकट बिक्रीमा नेपालको प्रचलित नियम कानुनका साथै एन्फाको आर्थिक नियमावली र कार्यविधिको उलङ्घन भएको बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै उनले टिकट विक्रीमा अनियमितता र भष्ट्राचार भएको बताएका हुन् ।
उनले भने, ‘हालै नेपालमा सम्पन्न महिला साफ च्याम्पियनशिप २०२४ को गेट टिकट बिक्रीमा नेपालको प्रचलित नियम कानुनका साथै एन्फाको आर्थिक नियमावली र कार्यविधिको उलङ्घन भएकोले अनियमितता र भ्रष्ट्राचार भएको मेरो बुझाई छ । एन्फाको एक जिम्मेवार पदाधिकारी भएकोले चुप लागेर बस्नु आम खेलाडी र फुटबलप्रेमीप्रति अन्याय हुने ठानेर राज्यको नियमनकारी निकाय र आम फुटबलप्रेमी दर्शकको ध्यान आकृष्ट गराउन यो पत्रकार सम्मेलनको आयोजना गरेको छु ।’
साथै उनले टिकट बिक्रीका लागि टेण्डर आह्वान गर्नु कार्यसमितिको निर्णय र एन्फाको विधान विपरीत भएको बताए । 
यस्तो छ बरिष्ठ उपाध्यक्ष खडकाको ठम्याई :
निम्न कारणले गर्दा एन्फालाई ठूलो क्षति पुगेको छ ।
१. एन्फा कार्यसमितिको मिति २०६१ भाद्र ११ र १३ गते सम्पन्न बैठकको निर्णय नम्बर १६ मा साफलगायत अन्य प्रतियोगिताको गेट टिकटको दररेट निर्धारण तथा व्यवस्थापन गर्नको लागि एन्फा कार्यसमिति सदस्य पुरुषोत्तम थापाको संयोजकत्वमा विकास नारायण श्रेष्ठ, प्रविण यादव, सुरेश शाह र सजिव पाण्डे सम्मिलित ५ सदस्यीय समिति गठन गरिएको थियो ।
२. ७ दिने सूचना नै प्रक्रिया विपरीत छ र ७ दिनमा पनि ५ दिन त पर्व बिदा नै छ । समयसिमा भित्र एउटा मात्र कम्पनीले आवेदन दिएको अवस्थामा अर्को सूचना प्रकाशित गर्नुपर्नेमा सोही कम्पनीसँग सम्झौता गर्नु वदनियत देखिन्छ ।
टेण्डर दिइ सकेको अवस्थामा पुनः अवैधानिक तवरले सम्झौता खारेज गर्ने निर्णय पनि अपारदर्शी र स्वार्थ प्रेरित देखिन्छ । एन्फाले टिकट बिक्री गर्दा Online platform मार्फत गर्नुपर्नेमा सो समेत गरिएको देखिएन ।
३. माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड ईभेन्ट प्रा. लि. लाई जुन आरोप लगाएर सम्झौता रद्द गर्ने निर्णय गरिएको छ । सोही काम एन्फाले दोहो¥याएको छ । फाईनलमा एन्फाले साधारण तर्फ १० हजार र भिआईपी तर्फ १००० टिकट बिक्री गर्ने निर्णय गरेको थियो त्यो आफैले उलङ्घन गरी भिआईपी तर्फ १०८२ साधारण तर्फ १०,१३५ टिकट बिक्री गरिएको छ । जुन तथ्य बिक्री टिकट नम्बरबाट प्रमाणित भएको देखिन्छ ।
४. अध्यक्ष देश बाहिर रहेको अवस्थामा संघको विधानको धारा ३७ (६) ले म स्वतः कार्यवाहक अध्यक्ष हुने व्यवस्था गरेको छ । माथिको निर्णयले एन्फालाई करिब १ करोड ५० लाख क्षति पुगेको मेरो बुझाई छ । संस्थालाई क्षति पुग्ने गरी अवैध कार्यहरू गरी किन टेण्डर रद्द गरियो, बढी टिकट बिक्री गर्नुको आशय के हो ? एन्फामा टिकट बिक्री वापतको रकम जम्मा भयो भएन ? यी सबै निर्णयहरू गैरकानुनी, प्रक्रिया विपरीत र अपारदर्शी भएकोले राज्यका निकायलाई छानविनका लागि आह्वान गर्न चाहन्छु र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यो विषयमा उजुरी परी सकेकोले गम्भिरतापूर्वक छानविनका लागि सम्मानित अख्तियारको ध्यानाकर्षण गर्न चाहन्छु र अन्तमा, महिला साफ च्याम्पियनशिपबाट उठेको सम्पूर्ण रकम देशका लागि रगत पसिना बनाउने महिला खेलाडीहरूलाई दामासाहीले दिनु पर्दछ भनी जोडदार माग पनि गर्दछु ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १९:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार