सोसल मिडिया
Contact Us
युनिकोड
वैदेशिक रोजगारमा लैजाने भनी ठगी गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। बिरुवा गाउँपालिका– १ स्याङ्जा घर भई काठमाडौं महानगरपालिका– ३१ बानेश्वर बस्ने ५० वर्षीया कमलाकुमारी केसी, बडिगाड गाउँपालिका– ९ बागलुङ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका– २ बालकोट बस्ने २२ वर्षीया सीता बुढा र मेचीनगर नगरपालिका–१० झापा घर भई कामपा– २६ नयाँबसपार्क बस्ने २६ वर्षीय मनीष खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये केसीले क्रोएसिया पठाइदिन्छु भन्दै चारजनाबाट रु. आठ लाख २५ हजार, बुढाले बेलायत पठाइदिन्छु भन्दै एकजनाबाट दुई लाख र खड्काले क्रोएसिया पठाइदिन्छु भन्दै एकजनाबाट दुई लाख २५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ । यसैबिच, काठमाडौं महानगरपालिका– ४ चप्पल कारखानास्थित एक घरमा जुवातास खेलिरहेको अभियोगमा आठजनालाई गएराति प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट नगद रु. ७९ हजार ४६५ रुपैयाँ र आठ बुक ताससमेत बरामद गरेको छ।