संस्कृतिविद् हरिराम जोशी र छत्रबहादुर कायस्थलाई आज सम्मान गर्दै ललितपुर महानगर

सवारीसाधन, संचारसाधन सेट, नगरप्रहरीको सुविधा
बिहीबार, कात्तिक २९, २०८१

ललितपुर । ललितपुर महानगरले संस्कृति संरक्षणको क्षेत्रमा  निरन्तर लागिपरेका संस्कृति शिरोमणि, अनुसन्धानकर्ता एवम् पुरातत्वविद् हरिराम जोशी र संस्कृतिविद्, अन्वेषक र वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थलाई विशेष सुविधा दिएर सम्मान गर्ने भएको छ ।  ललितपुर महानगरले बिहीबार अपरान्ह एक कार्यक्रम आयोजना गरी उहाँहरुको दिनचर्या सहज बनाउनका लागि सवारी साधन, सुरक्षाकर्मीको रुपमा नगर प्रहरी, मोवाइल सेट हस्तान्तरण गरेर सम्मान गर्ने भएको हो । साथै, अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउनु परेको अवस्थामा लाग्ने सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्नेछ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले कार्यपालिकाले गरेको निर्णय कार्यान्वयन गर्न कार्यक्रम गरेको बताए । उनले भने, ‘उहाँहरुको दिनचर्या सहज होस्, हिड्डुल गर्न सजिलो होस् भनेर कार्यपालिकाबाट यस्तो निर्णय गरेका हौँ ।’ ललितपुर महानगरको वडा नंं.५ निवासी हरिराम जोशी वि.सं. १९९२ जन्मिएका हुन् । त्यसैगरी छत्रबहादुर कायस्थको जन्म  वि.संं. १९९९ मा भएको हो । 
संस्कृति शिरोमणि हरिराम जोशीका पुस्तकहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वविद्यालयको पाठ्यपुस्तकको रुपमा समावेश भएका छन् । संस्कृतिका विविध विधामा जोशीद्धारा लिखित तीन दर्जन भन्दा धेरै पुस्तक सार्वजनिक भएका छन् । यसैगरी सम्मानित हुनु भएका अर्का व्यक्तित्व संस्कृतिविद् छत्रबहादुर कायस्थद्धारा लिखित ५ दर्जनभन्दा बढी पुस्तक प्रकाशित भएका छन् । कायस्थद्धारा लिखित पुस्तक पनि विश्वविद्यालयको पाठ्यपुस्तकको रुपमा समावेश भएको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले कलासंस्कृति र सम्पदा संरक्षणमा योगदान पु¥याउने व्यक्तित्वको सम्मान र कदर गर्ने कार्यक्रम गरेको बताए । उनले भने, ‘ललितपुर महानगरपालिका र नेपाललाई कलासंस्कृति, सम्पदा र भाषाको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचित गराउने व्यक्तित्वको सम्मानमा गरिएको यस निर्णयबाट महानगरपालिका गौरवान्वित भएको छ ।’
उहाँहरुको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै कलासंस्कृति, सम्पदा संरक्षण र यस क्षेत्रको उन्नयनमा ललितपुर महानगरपालिकाको यो निर्णयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको नगर प्रमुख चिरीबाबु महर्जनले बताए ।  ललितपुर महानगरपालिकाले यस अघिसंस्कृतिविद्, शताब्दीपुरुष सत्यमोहन जोशीको सम्मान स्वरुप  सवारीसाधन, सुरक्षाकर्मी र संचारसाधन उपलब्ध गराएको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार