सोसल मिडिया
Contact Us
युनिकोड
लामाटार (ललितपुर) । महालक्ष्मी नगरपालिका वडा नम्बर ९ को शशम्भु चौर यतिबेला खेलमय भएको छ । शशम्भु चौरस्थित कभर्ड हलमा आजदेखि दोश्रो वडा अध्यक्ष कप राष्ट्रब्यापी र्यापिड बुद्धिचाल खेल प्रतियोगिता सुरु भएका कारण उक्त चौर खेलमय भएको हो । महालक्ष्मी नगरपालिकाको ९ नं. वडा कार्यालयले आयोजना गरेको प्रतियोगिता शुक्रबार मध्यह्न एक भव्य कार्यक्रमकाबीच नगर प्रमुख हरिगोबिन्द श्रेष्ठले उद्घाटन गर्नुभयो । वडा कार्यालयले आयोजना गरेको प्रतियोगिताको यो दोस्रो संस्करण हो । गत वर्षको चैत महिनामा वडा कार्यालय बुद्धिचाल प्रतियोगिता आयोजना गरेको थियो । वडा अध्यक्ष जयकृष्ण बोगटीको सभापतित्वमा आयोजित उद्घाटन सत्रमा जनप्रतिनिधिसहित बुद्धिचाल महासंघका प्रतिनिधि, राजनीति दलका प्रतिनिधि, महालक्ष्मी नगरपालिकाका कर्मचारी, खेलप्रेमी स्थानीयसहित विद्यार्थीहरूको ठूलो मात्रामा उपस्थिति रहेको थियो । राष्ट्रव्यापी दोस्रो वडाअध्यक्ष कप प्रतियोगितामा भारतसहित नेपालका धेरै जिल्लाहरूबाट आएकासमेत गरी २ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको छ । महालक्ष्मी नगरपालिका भित्रका विद्यालयका विद्यार्थीहरूको अलग्यै प्रतियोगिता गराइएको छ । प्रतियोगिता अवलोकनका लागि अमेरिकाबाट पनि बुद्धिचाल खेलप्रेमी आएको वडाअध्यक्ष जयकृष्ण बोगटीले जानकारी दिनुभयो । भोलिसम्म संचालन हुने प्रतियोगिताका विजयी खेलाडीलाई भोलि नै नगद पुरस्कार, शिल्ड तथा प्रमाणपत्र वितरण गरिनेछ ।
यसअघि पानसमा दिप प्रज्ज्वलन गरी प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि नगर प्रमुख श्रेष्ठले यो प्रतियोगिताले मुलुकमा नै बुद्धिचाल खेलमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो । बुद्धिचाल खेल केवल खेलमात्रै नभएर आफ्नो स्मरण क्षमता, एकाग्रतामा टेवा पुग्ने र साथै वडा कार्यालयले युवा जनशक्तिलाई सत् मार्गमा डोहोयाउन बुद्धिचालसहित ६ वटा अन्य खेलको बार्षिक रुपमा आयोजना गरिने वडा अध्यक्ष तथा कार्यक्रमका सभापति जयकृष्ण बोगटीले जानकारी दिनु भयो । सामाजिक उत्तरदायित्व बहन गर्ने अभियानमा वडाले चेस खेलको निम्ति ४ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रतियोगिताका विजयी खेलाडीले आकर्षक ट्रफि, प्रमाणपत्र, मेडल र नगद २५ हजार प्राप्त गर्ने छन् । द्वितीय स्थानमा रहने खेलाडीले मेडल, प्रमाणपत्र र नगद १५ हजार, तृतीय हुनेले मेडफ, प्रमाणपत्र र नगद १० हजार प्राप्त गर्नेछन् । चौथो हुनेले नगद ८ हजार, पाँचौ तथा छैटौंले समान नगद ६ हजार ५ सय र सातौं देखि दशौंसम्म अटाउनेले समान नगद ४ हजार जनही हात पार्ने छन् ।
यसैगरी उत्कृष्ट महिला तीन जनाले नगद ६ हजार, उत्कृष्ट २ जना नव प्रवेशी, उत्कृष्ट ५५ वर्ष माथिका २ जना भेट्रान, उत्कृष्ट १८ सय रेटेड २ जना , उत्कृष्ट १६ सय रेटेड २ जना, उत्कृष्ट युवा १२, १४, १६, १८ वर्षका दुई दुई जना, उत्कृष्ट ललितपुरका दुई जना र उत्कृष्ट महालक्ष्मी नगरका दुई जना गरी ३३ जना खेलाडीले पुरस्कार पाउने छन् । कार्यक्रम सञ्चालक वडा सदस्य शशिधर पोखरेलले प्रतियोगितावाट स्थानीय विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी छुट्टै पुरस्कारसहित खेलको आयोजना भएको बताउनुभयो । उद्घाटन सत्रमा कार्यपालिका सदस्य सरिता पोखरेलले प्रमुख अतिथि नगरप्रमुख, खेलाडी तथा अन्यलाई स्वागत गर्दै महालक्ष्मी नगरपालिकाले स्थानीय रहेको आभास दिन बुद्धिचाल प्रतियोगिता आयोजना गरेको बताउनुभयो । राष्ट्रिय निर्णायक एफए सोराज ताम्राकारका अनुसार प्रतियोगीता स्वीस लिग अन्तर्गत पहिलो दिन ५ चरणको खेल हुने र दोश्रो दिन ४ चरणको गरी ९ चरणको खेल सञ्चालन गरिने छ । प्रत्येक खेलाडीले १५ मिनेट समय प्राप्त गर्ने छन् भने हरेक चालमा १० सेकेण्ड समय थप पाउने छन् । र्यापिडचेस विधा निकै प्रतिस्पर्धात्मक हुने भएको हुँदा डिरेक्ट ईन्काउन्टर, बुकोल्ज्स् कट वान, कट टु , मोष्ट वीन र ब्लाक वीन नियम लागू गरिने छ ।