सोसल मिडिया
Contact Us
युनिकोड
बज्रबाराही (ललितपुर) । ललितपुरको गोदावरी नगरपालिकाले असोजको दोस्रो साता गएको बाढी र पहिरोका कारण डेढ अर्ब हराहारीको क्षति भएको प्रारम्भिक लगत सार्वजनिक गरेको छ । त्यसैगरी बाढी–पहिरोका कारण नगरपालिका भित्र १९ जनाको ज्यान गएको छ । गोदावरी नगरपालिकाले शुक्रबार आयोजना गरेको विशेष नगरसभामा नगर प्रमुख गजेन्द्र महर्जनले ३४ जना प्राविधिकलाई वडैपिच्छे परिचालन गरेर प्रारम्भिक लगत तयार पारेको जानकारी गराएका छन् । नगरप्रमुख महर्जनका अनुसार प्राविधिक टोलीले निजी घर-आवास, सामुदायिक र संस्थागत भवन, सडक खानेपानीलगायतका पूर्वाधारमा क्षति पुगेको प्रारम्भिक लगत तयार पारेको छ । नगरप्रमुख महर्जनले प्राविधिक कठिनाई फुकाउन विशेष नगरसभा आयोजना गर्नुपरेको बताए । नेपालको संविधान अनुसार स्थानीय तहले एक आर्थिक वर्षमा असार र पुसमा गरी दुई पटक नगरसभा गर्नुपर्ने व्यवस्था छ । स्थानीय तहले विशेष निर्णय गर्न विशेष अवस्थामा विशेष नगरसभा बोलाउन सक्ने प्रावधान छ । नगरप्रमुख महर्जनले भने, ‘बजेट पारित गरेर काम गर्ने तरखर गर्दै थियौँ, बाढी र पहिरोले तहस नहस बनाइदियो, सम्पन्न हुनै लागेका योजनामा सुरुदेखि काम गर्नुपर्ने अवस्था आइप¥यो, सम्पन्न भइसकेका योजनालाई पुननिर्माण गर्नुपर्ने अवस्था आइपर्यो ।’ वडा र नगर स्तरका योजनामा विनियोजित रकमलाई कटौति गरी बाढीले तहसनहस बनाएको क्षेत्रमा रकमान्तर गर्ने लगायतका विषयमा छलफल गर्न यो नगरसभा बोलाइएको नगर प्रमुख गजेन्द्र महर्जनले बताए । उनले वडास्तर र नगरस्तरको विनियोजित १० करोड रकमान्तर गरेको जानकारी दिए । गोदावरी नगरपालिकाले विशेष नगरसभाले चालु आर्थिक वर्षमा वडास्तर र नगरपालिकास्तरमा विनियिोजित बजेटका केही रकम कटौति गरी क्षतिग्रस्त सडक तथा पुल पूर्वाधार, खानेपानी पूर्वाधार, शिक्षण संस्था तथा स्वास्थ्य संस्थाको पूर्वाधार पुनर्निर्माण तथा मर्मत संभार गर्न ६ करोड विनियोजन गरेको छ । टिकाभैरव मन्दिरलगायत धार्मिक सांस्कृतिक पूर्वाधार मर्मत र पुनर्निर्माण गर्न २ करोड विनियोजना गरेको छ । त्यसैगरी मृतक परिवार जिविकोपार्जन कार्यक्रम संचालन, अन्य राहत वितरण तथा निजि आवास पुनर्निर्माण सहायता जस्ता कार्यक्रम नगर विपद् व्यवस्थापन कोष मार्फत संचालन हुने गरी विपद् व्यवस्थापन कोषमा २ करोड थपेको छ । गोदावरी नगरपालिकालाई संघीय सरकारले बाढीजन्य विपद् लगत्तै विपद् संकटग्रस्त पालिका घोषणा गरेको थियो । घोषणा लगत्तै संघीय सरकारबाट प्राप्त भएको १ करोडबाट खानेपानीको पाइप, तथा क्रेट जाली खरिद गर्न ठेक्का व्यवस्थापन भइसकेको छ । नगरसभामा नगरप्रमुख महर्जनले आफ्नो कार्यकालको बाँकी साढे दुई वर्षको अवधिमा पूर्वाधार निर्माण र विकासलाई पहिलेकै अवस्थामा पुर्याउने प्रतिबद्धता जनाए । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले पछिल्ला वर्षहरूमा प्राकृतिक विपद् र अन्य विपद्बाट गोदावरी नगरपालिका धेरै नै प्रभावित भएको बताए । बिग्रिएका, भत्किएका पूर्वाधार पुनर्निर्माण गर्न र घरबारबिहीनलाई बस्ने ठाउँको बन्दोबस्त मिलाउन विशेष निर्णय गर्नका लागि विशेष नगरसभा बोलाइएको उनले जानकारी दिए । नगरसभामा उपप्रमुख मुना अधिकारी र सम्पूर्ण सभा सदस्यहरुको उपस्थिति थियो ।