सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं. ७ चांगाथलीस्थित चांगाथली खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो साधारण सभाबाट रामकृष्ण बस्नेतको नेतृत्वमा आगामी तीन वर्षका लागि ११ सदस्यीय नयाँ कार्यकारी समिति निर्विरोध निर्वाचित भएका छन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा सुरेन्द्रमान अमात्य, सचिवमा देविका राई, कोषाध्यक्षमा मैयाँ महर्जन, सहसचिवमा दिपक बस्नेत तथा सदस्यहरूमा बाबुकाजी महर्जन, चन्द्रबहादुर महर्जन, शुभराज राई, श्यामलाल श्रेष्ठ, असलमाया महर्जन र विकास केसी निर्वाचित भएका छन् । विगत लामो समयदेखि खानेपानीको अभाव खेपिरहेका ललितपुरको पुर्वी भेग चांगाथलीका बासिन्दाहरूलाई स्थानीय युवाहरूको सक्रियतामा १२ वर्षअघि चांगाथली क्लबमार्फत २०६९ साल मंसिर १७ देखि २५ गतेसम्म श्रीमद् भागवत ज्ञान महायज्ञ लगाएर उठेको रकमबाट जग्गा खरिद गरी खानेपानी डिप बोरिंङ्ग गरिएको थियो । सो महायज्ञमा करिब १ करोड ७ लाख रुपैयाँ नगद संकलन भएकोमा सो रकमबाट ९ आना ३ पैसा जग्गा खरिद गर्नुका साथै स्थानीय समाजसेवी शिवराम खत्रीबाट १ आना २ पैसा र मेखबहादुर खत्रीबाट १ आना १ दाम जग्गा दान प्राप्त भएकोमा सोही ठाउँमा खानेपानी बोरिङ्ग गरी स्थानीय बासिन्दालाई वितरण गरिएको खानेपानी उपभोक्ता समितिका निवर्तमान अध्यक्ष एवम् महालक्ष्मी नगरपालिका वडा नं. ७ का अध्यक्ष बाबुराजा महर्जनले जानकारी दिए । समितिले हाल चांगाथलीका १ हजार १ साय ६९ घरधुरीमा खानेपानी वितरण गर्दै आएको छ भने खानेपानीको थप धारा वितरण गर्न चांगाथली बुद्ध विहार हातामा अर्काे डिप बोरिङ्ग गर्ने काम सम्पन्न गरेको छ । मेलम्ची खानेपानीको लागि समेत पहल भइरहेको अध्यक्ष महर्जनले बताए । महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले उद्घाटन गरेको साधारणसभामा उपप्रमुख लक्ष्मी महर्जन, वडा नं. ५ का अध्यक्ष कपिल केसी, लुभु खानेपानी उपभोक्ता समितिका अध्यक्ष सानुकान्छा श्रेष्ठले बोलेका थिए भने चाँंगाथली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सल्लाहकार श्याम महर्जन र अध्यक्ष बाबुराजा महर्जनले चांगाथलीमा विगतका वर्षहरूमा खानेपानीको अभावदेखि वर्तमान अवस्थासम्मका बारेमा आफ्नो भनाई राखेका थिए । त्यस अवसरमा उपभोक्ता समितिका सचिव रामकृष्ण बस्नेतको प्रतिवेदन तथा कोषाध्यक्ष नन्द केसीको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो । कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले उपभोक्ता समितिका निर्वतमान अध्यक्ष बाबुराजा महर्जन, उपाध्यक्ष राजकुमार केसी, कोषाध्यक्ष नन्द केसी र सदस्य दामोदर प्रसाद पौडेललाई नयाँ कार्यसमितिको तर्फबाट कदरपत्र प्रदान गरी सम्मान तथा विदाई गरेका थिए ।