कांग्रेसभित्रको गुटबन्दी न्यूनीकरण गर्न प्रकाशमान सिंहको आह्वान 

शनिबार, मंसिर १, २०८१

मोरङ । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले पार्टीलाई सुदृढ बनाउन गुटबन्दी न्यूनीकरण गर्नुपर्ने बताएका छन् । जिल्ला कार्यसमिति मोरङले शनिबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टी व्यवस्थापन नै अहिले कांग्रेसको लागि मूल चुनौती रहेको बताए । यसरी अब पार्टी नचल्ने भन्दै कांग्रेसलाई बलियो बनाउन पार्टीलाई व्यवस्थित गरेर लैजानुपर्नेमा उनको जोड थियो ।  ‘पार्टी व्यवस्थापन नै कांग्रेसको चुनौती हो । ग्रुपपिजम न्यूनिकरण गर्दै जानुपर्छ’, कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले भने । पार्टीमा आफूले सँधै वरिष्ठतालाई मानेको भन्दै उनले १४औं महाधिवेशनमा वरिष्ठताकै आधारमा आफूले  सभापति दाबी गर्दा पूर्वमान्यताबाट केही नेता विचलित भएको बताए । आफ्नो अनुकूल हुँदा वरिष्ठता भन्ने र प्रतिकूल हुँदा वरिष्ठता केही होइन भन्ने प्रवृत्ति १४औं महाधिवेशनमा देखिएको भन्दै उनले आफ्नो स्वभाव वरिष्ठतालाई सम्मान गर्ने र पार्टीमा सबैसँग मिलेर काम गर्ने रहेको प्रष्ट पारे । आउँदो महाधिवेशनमा के गर्ने भन्दा पनि पार्टी संगठनलाई कसरी बलियो बनाउनेतर्फ आफ्नो ध्यान रहेको सिंहको भनाई थियो । उपप्रधानमन्त्री सिंहले सात बुँदे सहमतिको जगमा वर्तमान सरकार बनेको भन्दै राजनीतिक स्थिरता र आर्थिक समृद्धिकै लागि सरकारले काम गरिरहेको बताए । कार्यक्रममा मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू, केन्द्रीय सदस्य डिला संग्रौलालगायतका नेता, कार्यकर्ता सहभागी थिए ।

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  २०:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार