सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडा धापाखेलले मूल सडकको मुहार फेर्ने योजनासहित सुरु गरेको सडकको दायाँ–बायाँ सीमाङकन गर्ने कार्य सम्पन्न गरेको छ । वडा कार्यालयले शनिबार देखि साविक धापाखेल गाविस ३ नं. वडाको सीमाबाट मूल सडक विस्तार–स्तरोन्नतिका लागि सीमाङकन सुरु गरेको थियो । शनिबार र आइतबार दुई दिन मुल सडकको दायाँ–बायाँ क्षेत्रफल सीमाङकन गरिएको छ । मूल सडकको दायाँ–बायाँको सीमाङ्कन कार्य सकिएलगत्तै थप कार्य अघि बढाउने सम्बन्धमा वडाअध्यक्ष दिनेश जंग पाण्डे नेतृत्वको एक टोलीले आइतबार नै सडक डिभिजन कार्यालयका प्रमुख इन्जिनियर मुकुन्दराज खकुरेलसँग छलफल गरेको छ । छलफलमा सहरी विकास मन्त्रालयका प्रतिनिधिसहित सडक डिभिजन कार्यालयका इन्जिनियर आशिश थापामगर तथा वडा कार्यालयका तर्फबाट वडाअध्यक्ष दिनेश जंग पाण्डे, ललितपुर महानगर कार्यपालिका सदस्य रामशरण पहेली, वडासदस्य हरिकृष्ण महर्जन, वडा सल्लाहकार, पुरुषोत्तम पौडेल, नेकपा एमाले वडा कमिटिका अध्यक्ष किरण श्रेष्ठ, महेश गिरी, मनोज महर्जन, रोशन पहेली तथा सञ्चारकर्मीसहितको टोली सहभागी भएको थियो । वडाअध्यक्ष पाण्डे नेतृत्वको टोलीले सडकको दायाँ–बायाँ सीमाङकन कार्य सकिएपछि मूल सडक विस्तार–स्तरोन्तति कार्यका लागि गर्नुपर्ने कार्यका बारेमा छलफल गरेको हो । छलफलमा वडाअध्यक्ष दिनेश जंग पाण्डेले शनिबार र आइतबार दुई दिनसम्म ठूलो संख्यामा वडावासीको साथ सहयोगमा सडकको दायाँ–बायाँ सीमाङ्कन कार्य सम्पन्न भएको अवगत गराउँदै सडक विभाग तथा सहरी विकास मन्त्रालयले गर्ने कार्यका बारेमा जिज्ञासा राख्नु भएको थियो । त्यस क्रममा उहाँले वडास्तरीय बजेटबाट सडकको दायाँ–बायाँ संरचना नभएका स्थानमा बाउण्ड्री लगाउने कार्य तत्काल सुरु गरिने जानकारी दिनु भएको थियो । उहाँले कालोपत्रे तथा नाला–ढल व्यवस्थापनका लागि दुबै निकायलाई तत्कालै टेण्डर प्रक्रियामा जान पनि आग्रह गर्नु भएको थियो । वडाअध्यक्ष पाण्डे नेतृत्वको टोलीसँगको छलफलमा सडक डिभिजन कार्यालय ललितपुरका प्रमुख इन्जिनियर मुकुन्दराज खकुरेलले सीमाङ्कन कार्य लगत्तै वडा कार्यालयले बाँकी कामका लागि सडक डिभिजन कार्यालयलाई पत्राचार गर्न आग्रह गर्दै सीमाङकन भएका क्षेत्रमा बाउण्ड्री वाल लगाइदिन आग्रह गर्नु भएको थियो । उहाँका अनुसार टेण्डर प्रक्रियामा जाँदा पनि काम किटानी गरेर जाँदा राम्रो हुने भनाई राख्नु भएको थियो । सडक विस्तार–स्तरोन्नतिका लागि सीमाङकन गर्दा सडकको दुबैतर्फका जग्गाधनीहरूप्रति समान व्यवहार गरिएको छ । सडक छेउमा निर्माण भएका घरहरूको मुआब्जाको व्यवस्था भइनसकेकोले यथावत राखिने वडाअध्यक्ष पाण्डेले जानकारी दिनुभयो । धापाखेलको मूल सडक जीर्ण हुँदा यहाँका वडावासी बर्षामा हिलो तथा हिउँदमा धुलो खान बाध्य छन् । चालु आर्थिक वर्षमा धापाखेलको मूल सडक विस्तार तथा स्तरोन्नतिका लागि संघीय सरकारबाट बजेट विनियोजना भइसकेको छ भने वडा कार्यालयले पनि वडा बजेटबाट आवश्यक मात्रामा बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाएको छ । धापाखेलको मूल सडक सुधार तथा स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट १ करोड तथा संघीय सरकारकै सहरी विकास मन्त्रालयबाट थप १ करोड ५३ लाख बजेट प्राप्त भएको छ । मूल सडक सुधार तथा स्तरोन्नतिका लागि वडा कार्यालयले वडा स्तरीय बजेटबाट १ करोड रुपैयाँसम्म खर्च गर्ने योजना बनाएको छ । वडा बजेटबाट पर्खाल लगाउने कार्य गरिने छ । विस्तार–स्तरोन्नतिका लागि सीमाङकन गर्दा मूल सडकको लम्बाई १४ मिटर कायम गर्दै नापजाँच गरिएको थियो । नापजाँच गर्दा पुरानो पीचलाई आधार मानिएको थियो । पुरानो पिचको मध्य भागलाई आधार मानेर त्यसको दायाँबायाँ बराबर भूभाग लिइएको थियो । मूल सडक विस्तार–स्तरोन्नति गर्दा १० मिटर जति कालोपत्रे गर्ने योजना छ । बाँकी रहेको ४ मिटरको क्षेत्रफलमा नाला तथा फुटपाथ रहने छ । धापाखेल वडा नं. २४ मा मूल सडकको लम्बाई करिब अढाई किलोमिटर रहेको छ ।