कर्णाली याक्सले छान्यो आइकोनिक प्लेयर्समा विपिन

बुधबार, मंसिर ५, २०८१

काठमाडौं । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले मंगलबार ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्समा छनोट गरेको छ । कर्णाली याक्सले   सुर्खेत वीरेन्द्रनगरमा भएको छनोट कार्यक्रमबाट छानिएका पाँच उत्कृष्ट खेलाडीको मध्येबाट विपिनलाई आइकोनिक खेलाडीमा छनोट गरेको हो । आइकोनिक खेलाडी बनेसँगै विपिनले नेपाल प्रिमियर लिगमा कर्णाली याक्सको प्रतिनिधित्व गर्न पाउने छन् । कर्णालीले ‘ट्यालेन्ट हन्ट’बाट विपिनसँगै मनिष थापा, निश्चल रावल, राजप्रसाद शाह र अरविन्द घर्तीलाई छानेको थियो । उनीहरुले प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । बाँकी चार खेलाडीलाई पनि विशेष प्रशिक्षणको व्यवस्था गरिएको क्लबले बताएको छ । ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको थियो । ३८ वर्षीय बायाँ हाते ओपनरले भारतसँगै आईपिएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका छन् । उनले सन् २०१६ मा हैदरावादलाई आईपिएल जिताएका थिए । त्यस्तै, भारतलाई एसिसी एसिया कपको उपाधि जिताएका छन् । त्यस्त, वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले एनपिएल खेल्ने पक्का भइसकेको छ । टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव छन् । अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट  अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् । यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । त्यस्तै टिमको हस्पिटालिटी पार्टनरमा हिल्टन होटल छ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ ।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १०:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार