सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । काँग्रेसका पुराना नेता स्वर्गीय महेन्द्रनारायण २००७ सालमा प्रजातन्त्र स्थापनाका लागि निर्वाह गरेको संघर्षमय जीवनीमा आधारित नेपालका निधि नामक पुस्तक सार्वजनिक भएको छ । महेन्द्र नारायण निधिलाई नेपाली काङ्ग्रेस भित्र गान्धीवादी नेताका रुपमा लिने गरिन्छ । २०१५ सालको निर्वाचनपछि गठन भएको संसदमा उपसभामुख भएका उनी नेपाली काङ्ग्रेसका महामन्त्री समेत भए । वि.सं. २००७ असोज ९, १० र ११ मा तत्कालीन जहानिया राणा शासनविरूद्ध भारतको बिहारस्थित बैरगनियामा सम्पन्न बैरगनिया सम्मेलनले पारित गरेको तत्कालीन जहानिया राणा शासन फाल्न डु अर डाई (गर या मर) अर्थात कि राणा शासन खत्तम गर्ने कि हामी खत्तम हुने नीति अपनाउन स्विकार गर्ने नेता मध्येका एक नेता थिए । बैरगनिया सम्मेलनमा गणेशमान सिंह, खड्गजीत बराल, बहादुरसिंह बराल, डाक्टर के.आई. सिंह, मातृकाप्रसाद कोइराला, बि.पि. कोइराला, कृष्णप्रसाद भट्टराई र महेन्द्र नारायण निधिको उपस्थिति रहेको थियो । नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी नेताका जीवनका आरोह अवरोहलाई समेटेर शब्द लेखनका शिल्पी वरिष्ठ पत्रकार किशोर नेपालले 'नेपालका निधि' नाम दिएर पुस्तकका रुपमा समेटेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित महेन्द्रनारायण निधिको जीवनीमा आधारित नेपालका निधि नामक पुस्तक लोकार्पण गरी पुस्तक पाठकको हातमा पुर्याएका छन् । वरिष्ठ पत्रकार किशोर नेपालले लेखेका उक्त पुस्तक रुपान्तरण प्रकाशनले प्रकाशन गरेको हो । पुस्तकले महेन्द्र नारायण निधिले प्रजातन्त्र स्थापनार्थ नेपाली राजनीतिमा खेलेको भूमिकामाथि चर्चा गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित महेन्द्रनारायण निधिको संघर्षमय जीवनीमा आधारित नेपालका निधि नामक पुस्तक सार्वजनक समारोहमा निधिका परिवार, निधिका जीवनीका बारेमा धेर थोर जानकारी राख्ने छिमेकी, राजनीतिकर्मी, वरिष्ठ सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति थियो । राष्ट्रपति भवन शीतल निवासमा आयोजित नेपालका निधि नामक पुस्तक लोकार्पण गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले महेन्द्रनारायण निधिका बहुआयामिक व्यक्तित्व, नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापना तथा सामाजिक, सांस्कृतिक जागरणबारे जान्न र बुझ्न चाहनेका लागि पनि सङग्रहणीय सामग्री हुने स्पष्ट पारे । महेन्द्रनारायण निधि बीपी कोइराला र समाजवादी नेता डा. राममनोहर लोहियाका चिन्तनबाट प्रभावित हुनुभएका महेन्द्रनारायण निधि नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी व्यक्ति भएको बताउँदै देशको राजनीति, आर्थिक र सामाजिक परिवर्तनका लागि आफ्नो जीवन समर्पित गर्नुभएको उनले स्मरण गरे । उनले भने,‘जहानियाँ राणाशासन र एकदलीय पञ्चायत मात्र होइन रुढीवादी, पछौटेपन तथा कुसंस्कारबाट मुक्त गरी नेपाली समाजलाई परिवर्तनको उज्यालो मार्गमा अघि बढाउन निधिजीले खेल्नुभएको भूमिका सदैव अनुकरणीय छ । राजनीतिक राजनीतिक जीवनका अनेकौ उतारचढावका दिनमा मैले निधिजीलाई अन्यन्त, धैर्यवान, सरल, सादगी नेताका रुपमा चिन्ने र बुझ्ने मौका पाएको छु । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको यो लक्ष्य पूरा गर्न न्यायपूर्ण, समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा सवै जुट्नुपर्ने बताए । राष्ट्रपति पौडेलले जनतामा भरोसा जगाउनका लागि शासन प्रणाली पारदर्शी जवाफदेही र सुशासन पहिलो शर्त भएको उल्लेख पनि गरेका छन् । उनले भने,‘सत्ता र शक्तिमा बस्नेका कमजोरीले लोकतन्त्रका शाश्वत मूल्य मान्यता अनि पवित्रतालाई धुमिल बनाउजे अवस्था आउन दिन हुँदैछ । यो कुरामा ध्यान दिन सके नै लोकतन्त्रको मूल्यमा कसैसँग संझौता नगर्ने निधिजी लगायतका अग्रजहरूप्रति सच्चा सम्मान हुनेछ भन्ने पनि म ठान्दछु ।’ पुस्तक लोकार्पण समारोहमा महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र निधिले वीपी, गणेशमान, कृष्णप्रसाद भट्टराईका बारेमा विश्वविद्यालयका पुस्तकहरुमा चर्चा गरिए पनि आफ्ना पिताले लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिकाका बारेमा कहीँ कतै उल्लेख नभएकोले त्यो विषयलाई बाहिर ल्याउन विश्वविद्यालयका पदाधिकारी तथा सर्जकहरुलाई आह्वान गरे । कार्यक्रममा पुस्तकका लेखक वरिष्ठ पत्रकार किशोर नेपालले महेन्द्र नारायण निधि शालिन तथा सन्त नेता रहेको स्मरण गर्दै आफूलाई जीवनका धेरै कुरा सिकाउनु भएको स्मरण गरे । पुस्तकका भाषा सम्पादक शरचन्द्र वस्तीले झण्डै झण्डै ओझेलमा परिसकेको २००७ सालको क्रान्तिका महत्वपूर्ण व्यक्तित्व निधिका बारेमा पुस्तक प्रकाशन भएसँग फेरि एक पटक उहाँलाई जीवन्त बनाएको बताए । कार्यक्रममा निधिका छिमेकी शिक्षिकाले आफूले देखेको राजनीतिक नेता र महेन्द्रनारायण निधिमा धेरै नै फरक पाएको चर्चा गरिन् । पुस्तकको प्रकाशक रुपान्तरण प्रकाशनले महेन्द्रनारायण निधिको संघर्षमय जीवनीमा आधारित पुस्तकलाई मुलुकका सातवटै प्रदेशमा पुस्तक चर्चासहित पुस्तकका पारखीहरुको हात हातमा पुर्याउने योजना बनाएको छ ।