सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । नेपाल भ्रमणमा रहेका कोसोभोका स्थानीय सरकार तथा प्रशासनमन्त्री एल्बर्ट क्रिस्निक र ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनबीच भेटवार्ता भएको छ । पहिलो पटक नेपालको औपचारिक भ्रमणमा आएका मन्त्री एल्बर्टको प्रतिनिधिमण्डलले मंगलबार महानगर प्रमुखसँग पुल्चोकस्थित महानगरको कार्यालयमा भेटवार्ता गरेको हो । मन्त्री एल्बर्टको प्रतिनिधिमण्डलले नेपालमा स्थानीय सरकारको अभ्यास, उपलब्धि, अवसर र चुनौतिहरुको बारेमा जानकारी लिनका लागि महानगर प्रमुख चिरीबाबु महर्जनसँग भेटवार्ता गरेको थियो । हेल्भेटास नेपालद्धारा नेपालमा संचालित कार्यक्रमहरुको अध्ययनको सिलसिलामा हेल्भेटास कोसोभोबाट आएको टोली सोमबार नेपाल आएको थियो । पाँच सदस्यीय प्रतिनिधिमण्डलसहित महानगर आएका एल्बर्टलाई नगरप्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य र प्रवक्ता एवम् सामाजिक विकास समितिका संयोजक राजु महर्जन, पूर्वाधार समितिका संयोजक चन्द्रलाल महर्जन, संस्कृति, पर्यटन समितिका संयोजक विकासमान श्रेष्ठ, शहरी विकास समितिका संयोजक गणेश केसी, प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठलगायतले स्वागत गरेका थिए । मन्त्री एल्बर्टले कोसोभोका भौगोलिक, राजनीतिक अवस्थाको बारेमा महानगरका जनप्रतिनिधिलाई जानकारी गराएका थिए । यसैगरी नगरप्रमुख महर्जनले नेपालको तीन तहको सरकार, उनीहरुको क्षेत्राधिकार लगायतका विषयमा कोसोभो मन्त्रीको प्रतिनिधिमण्डललाई जानकारी दिए । महानगर प्रमुख महर्जनले ललितपुर महानगरले सम्पदा संरक्षणमा प्रशस्तै काम गरेको बताए । सामाजिक सेवाको क्षेत्रमा पनि महानगरबाट धेरै काम सम्पादन भएको उनको दाबी थियो । पेट्रोल, डिजेलबाट सवारीसाधनका कारण वातावरण प्रदुषण बढ्दै भएको बताउँदै वातावरण संरक्षणका लागि महानगरले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकतामा राखेको बताए । ललितपुर महानगरले वातावरण संरक्षणका लागि वृक्षारोपणलाई प्राथमिकतामा राखेको जानकारी गराए । मन्त्री एल्बर्र्टले कोसोभोमा रहेका पालिकाहरुको प्रविधि,ज्ञान,सीप र असल अभ्यासहरु ललितपुर महानगरमा भित्राउन र अनुभव आदान प्रदानका लागि लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘यसका लागि म ललितपुरका मेयरसहितका जनप्रतिनिधि र कोसोभोका मेयरहरुबीच छलफल गराउन प्रयास गर्छु ।’ मन्त्री एल्बर्टका अनुसार कोसोभोमा केन्द्रीय र स्थानीय गरी दुई सरकारको व्यवस्था छ । स्थानीय सरकारले पालिकाहरुको लागि बजेटको व्यवस्था गर्नुपर्छ । महानगर प्रमुख महर्जनले नेपालमा तीन तहको सरकार रहेको बताउँदै संघीय र प्रदेश सरकारले स्थानीय सरकारलाई क्षेत्रगत रुपमा सहयोग गर्ने बताए । महानगरको मुख्य आम्दानीको एक स्रोत राजश्व संकलन समेत भएको उनले विदेशी मन्त्रीको प्रतिनिधिमण्डललाई जानकारी गराए । कोसोभोका मन्त्री एल्बर्टले भेटघाट फलदायी भएको बताए । महानगर प्रमुख महर्जनले नेपाल भ्रमण एकपटक मात्रै पर्याप्त नभएको बताउँदै फेरि पनि ललितपुरसहित नेपाल आउन निम्तो दिए ।