जेम्स स्कुलसँगैको महादेव खोलामा पक्की पुल निर्माण सुरु (भिडियो) 

बुधबार, मंसिर १२, २०८१

धापाखेल ( ललितपुर) । ललितपुर महानगरपालिका २३ नं. वडा धापाखेलस्थित मुल सडकको महादेव खोलामा पक्की पुल निर्माण कार्य सुरु भएको छ । पक्की पुल निर्माणका लागि ठेक्का पाएको ठेकेदार कम्पनीले पुल निर्माणको काम सुरु गरिसकेको छ ।  बागमती प्रदेश सहरी विकास मन्त्रालयको स्थानीय पूर्वाधार विभाग अन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय हेटौंडा मकवानपुरले पुलका लागि आवश्यक बजेट विनियोजना गरेपछि पुल निर्माण कार्य अघि बढेको हो । पुल निर्माणका लागि वडा कार्यालयले लामो समयदेखि पहल गर्दै आएको थियो । पुल निर्माणका लागि श्री गणेश–पृथ्वी जेभी कोटेश्वरले ठेक्का पारेको छ । बक्स कल्भर्ट प्रकृतिको उक्त पुलको लम्बाई ८ मिटर हुनेछ भने चौडाई ११ मिटरको हुनेछ । हाल यहाँ ५ मिटरको मात्रै पुल थियो । ठेक्काको अवधि दुई वर्षको रहेपनि निर्माण कम्पनीले ६ महिना भित्र पुल निर्माण सक्ने गरी काम थालेको ललितपुर महानगर २३ नं. वडाका वडाअध्यक्ष जीवन महर्जनले शब्दपाटीलाई जानकारी दिनुभयो । पुल निर्माण सुरु भएपछि मुल सडक बन्द हुने हुँदा यो बाटो भएर आउजाउ गर्र्ने सर्वसाधारणलाई ४ देखि ६ महिनासम्म धैर्य गरिदिन वडाअध्यक्ष महर्जनले आह्वान गर्नु भएको छ । ‘ठूला विकास निर्माणका काम गर्दा केही समय अप्ठ्यारो हुनेछ’, वडाअध्यक्ष महर्जनले भन्नुभयो, ‘पुल निर्माणसँगसँगै वडा नं. २३ मा बाँकी रहेको मूल सडकमा ग्रिनरीसहितको फुटपाथ र कालोपत्रे गरिनेछ । यी दुईवटा योजना सम्पन्न भएपछि धापाखेल २३ नं वडाको मुहार नै फेरिनेछ ।’ पुल निर्माण सम्पन्न नहुँदासम्म सहायक मार्गहरू प्रयोग गरिदिन अनुरोध गर्दै वडाअध्यक्ष महर्जनले भन्नुभयो, ‘सार्वजनिक सवारी साधानका लागि श्री कृष्ण मन्दिरमा अस्थायी बसपार्क बनाएर त्यहाँबाट धापाखेल २४ नं. वडा कार्यालय हुँदै सुनाकोठी–लगनखेलको रुट तय गरिएको छ ।’ सार्वजनिक सवारी साधान सञ्चालनका लागि वडा नं. २३ र २४ का वडाअध्यक्षसहितको टोलीले बस व्यवसायीहरूसँग सोमबार छलफल गर्नु भएको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार