सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बनेका कानुनहरु केवल कानुन विज्ञहरुले मात्र परिभाषा गर्न सक्ने खालका भएको टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटा व्यवसाय गरिरहेको व्यक्तिले पटक–पटक कानुनको व्याख्याका लागि धेरै मन्त्रालय धाउनुपर्ने जटिल समस्या फुकाउने प्रयासमा सरकार लगिपरेको बताए । उनले भने,‘सबैले चाहेको नीतिमा र कानुनमा सहुलियत ,सरकारको सेवा प्रवाहमा सहजीकरण हो । हाम्रा नीति कानुन सबैले बुझ्न सकुन भन्ने हो । तर आज कस्तो छ भने बनेका कानुनहरु केवल कानुन निर्माण गर्ने विज्ञहरुले मात्र त्यसको परिभाषा गर्न सक्ने छन् । एउटा व्यवसाय गरिरहेको व्यक्तिले पटक पटक कानुनको व्याख्याको लागि एउटा मन्त्रालयले अर्कोमा धाउनुपर्ने जटिलता फुकाउन चाहन्छौं । ’ उनले आजको आवश्यकता उत्पादनलाई बढाउनुपर्ने,व्यापार घाटा न्यूनीकरण गर्नुपर्ने रहेको भएतापनि अहिले सरकारका निकायहरु अन्तरमन्त्रालय पनि एकले अर्कोलाई नचिन्ने, निषेध गर्ने साथै कानुनहरु समस्याका रुपमा देखा परिरहेको बताए । उद्योग मन्त्रालयसँग सम्बन्धित कानुनहरुमा सरकारले चाँडै परिवर्तन गर्नेगरी गृहकार्य थालेको जानकारी गराउँदै उनले ऐन कानुनमा देखिएका समस्याहरु लिएर आउन निजी क्षेत्रलाई आग्रह गरे । उनले भने,‘आजको आवश्यकता उत्पादनलाई बढाउनुपर्ने छ । व्यापार घाटा न्यूनीकरण गर्नुपर्ने छ । स्वदेशी या विदेशी पुँजीलाई भित्र्याउनुपर्ने छ । तर अहिले पनि सरकारका निकायह अन्तरमन्त्रालय एकले अर्कोलाई नचिन्ने, निषेध गर्ने खालका कानुनहरु छन् । यस्तोबेला सरकार उद्योग मन्त्रालयसँग सम्बन्धित ४–५ वटा कानुनहरुमा सरकारले चाँडै परिवर्तन गर्नेगरी गृहकार्यको लागि निर्देशन गरिसकेको छ । त्यसैले निजी क्षेत्रलाई आग्रह गर्न चाहन्छु, आउनुहोस् कहाँ हो समस्या । लगानीलाई हामीले भित्र्याइरहँदा नीति र ऐनमा भएका समस्याहरु छलफलमा जुटौं ।’